झापा ७ मा तीन पुलका लागि सर्वेक्षण




२९ फागुन, दमक।
झापाको क्षेत्र नं ७ अन्तर्गत तीन स्थानमा सरकारले निर्माण गर्न लागेका पक्की पुलको लागत अनुमान सहितको ससर्वे गरिएको छ । यससँगै निर्माणका लागि ठेक्का लगाउने प्रक्रिया अघि बढ्नेछ ।
सरकारले हालै राष्ट्रिय योजना आयोगको रातो किताबमा समावेश गरेका लखनपुर, तोपगाछी र धरमपुर क्षेत्रका ती पक्की पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढाउन विस्तृत सर्वे गरिएको हो । सर्वेका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयबाट तोकिएको कन्सल्टेन्टका इन्जिनियर दीपक महर्जनसहितको टोली आएको थियो ।



सभासद महेन्द्रकुमारी सुब्बा समेत संलग्न सो टोलीले धरमपुर र तोपगाछीको क्याम्पा जोड्ने कमल खोला, लखनपुर ६ मा पर्ने गेउरिया खोला र तोपगाछीको ३ र ४ नम्बर वडालाई जोड्ने भुत्लुङ खोलामा पुल निर्माणका लागि आवश्यक प्राविधिक पक्षका बारेमा जानकारी लिएर फर्किएको छ । पत्रकारहरुसँगको कुराकानीमा सभासद सुब्बाले ती पुल निर्माणका योजना राष्ट्रिय योजना आयोगको क्रमागत योजनाको सूचीमा रहेको जानकारी दिइन्। उनले पुल निर्माणले बर्षौंदेखि त्यस क्षेत्रका बासिन्दाले पुलको अभावमा झेल्नु परेको समस्या समाधान गर्ने बताइन् ।
सर्वेमा खटिएका इन्जिनियर महर्जनले आउँदो चैतभित्र सम्पूर्ण प्राविधिक कुराहरु मिलाएर पुल निर्माणका लागि वैशाखको पहिलो साता नै टेन्डर खुल्ने बताए । निर्माणको काममा हुने ढिलासुस्ती समेतलाई मध्यनजर गर्दै त्यस किसिमको ढिलासुस्ती हुन नदिन मन्त्रालयका उच्च अधिकारीहरुसँग समेत कुराकानी भएको सभासद सुब्बाले बताइन् ।
सरकारले कमल खोलामा २० लाख र भुत्लुङका १५ लाख रुपैयाँ पहिलो चरणमा बजेट छुट्याएको बताइएको छ ।


Comments