बसपार्कमा सव्जी बजार सञ्चालन हुने



दमक।
झापाको दमकस्थित पूर्व बस स्टेण्डमा कृषि उपज केन्द्र सञ्चालनमा आउने भएको छ । स्थानीय जल्पादेवी एग्रीकल्चर प्रालि र मिक्लाचुङ जडिबुटी तथा कृषि सहकारी संस्थाको संयुक्त लगानीमा उपज केन्द्र सञ्चालनमा आउने भएको हो ।
दमक-११ स्थित बसपार्क क्षेत्रसँगै जोडिएको करिव ७ कठ्ठा जमीनमा व्यवस्थित कृषि उपज केन्द्र बन्ने भएको जल्पादेवी एग्रीकल्चरका अध्यक्ष यम प्रसाद नेपालले जानकारी दिए । आउँदो असारबाट सो उपज केन्द्र पूर्ण रुपमा सञ्चालनमा आउने उनले जनाए ।
अहिले सो क्षेत्रमा आवश्यक पूर्वाधारका कामहरु धमाधम भइरहेको जनाइएको छ । सो उपज केन्द्रमा विभिन्न १ सय २० वटा व्यापारीक स्टलहरु रहने मिक्लाचुङ सहकारी संस्थाका अध्यक्ष युवराज लिम्बुले बताए ।



पूर्वका उपभोक्ताहरुलाई लक्षित गरी सो उपज केन्द्र सञ्चालनमा ल्याउन लागिएको र हालसम्म २५ लाख रुपैयाँ बढी खर्च भइसकेको बताइएको छ । सो केन्द्र पूर्ण रुपमा सञ्चालन गर्न करिव १ करोड बढी रुपैयाँ खर्च लाग्ने सहकारीका अध्यक्ष लिम्बुको भनाई छ । सो सव्जी बजार निर्माणसँगै करिव ३० वटा बढी विभिन्न खाले स्टलहरु बुक समेत भइसकेका छन् ।
सो केन्द्रमा हरियो तरकारी, मासु, लत्ताकपडा लगायतका स्टलहरु रहने जनाइएको छ ।
व्यवसायीक रुपमा यस्ता उपज केन्द्र खुल्ने क्रम स्थानीय स्तरमा बढ्दै गएको छ । यसअघि दमक-११ कै नयाँ सव्जी बजार र चोकमा छुट्टा-छुट्टै सव्जी बजार सञ्चालनमा छन् ।

तस्वीर - निर्माणाधीन सव्जी बजार (विष्णु सुब्बा)



Comments