गजलमाला पुरस्कारबाट अनुपम पुरस्कृत



३० फागुन, उर्लाबारी।
उर्लाबारी गजल मञ्च उर्लाबारीले २०७० सालको गजलमाला पुरस्कारबाट तेह्रथुमका श्रष्टा बिराट अनुपमलाई पुरस्कृत गरेको छ ।
उर्लाबारी बहुमुखी क्याम्पसमा आज एक कार्यक्रमको आयोजना गरी अनुमपमलाई पुरस्कृत गरिएको हो ।
१ हजार १ रुपैयाँ राशी रहेको उक्त पुरस्कार प्राप्त गर्ने अनुपम छैटौं श्रष्टा हुन् । पुरस्कृत श्रष्टा अनुपमलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रेखा सुवेदीले प्रशंशा पत्र र नगद प्रदान गरिन्। ।
पुरस्कृत अनुपमले पुरस्कारले आफुलाई थप हौसला मिलेको बताउँदै आफ्ना रचना वाचन गरेर सुनाएका थिए।




गजल मञ्चका अध्यक्ष युवराज काफ्लेको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा साहित्यकार उपेन्द्र पागल, मिश्र वैजयन्ती, कृष्ण उदाशी, सुन्दर कुरुप, टिका आत्रेय, इरान राई सेवक, याम थुलुङ लगायतका श्रष्टाहरुको उपस्थिती रहेको कार्यक्रममा मञ्चकी पूर्व अध्यक्ष सावित्रा याक्खालाई सम्मान गरिएको थियो । गजल मञ्चको स्तरोउन्नतिको लागि खेलेको भूमिकाको कदर गर्दै याक्खालाई सम्मान गरिएको गजल मञ्चले जनाएको छ ।
कार्यक्रमकै अवसरमा पूर्वाञ्चलका बिभिन्न श्रष्टाहरुले रचना बाचन गरेर सुनाएका छन् ।
गजल विधाको संरक्षण र सम्वर्द्धनका लागि २०६५ सालमा स्थापित गजलमाला पुरस्कारबाट यसअघि प्रतिभा प्रक्षिप्त, नविन प्राचिन, सुशीला भट्ट, राज दिलान्जली, रहस्यबिक्रिम चिमरिया पुरस्कृत भइसकेको गजल मञ्चका उपाध्यक्ष तेजन खड्काले जानकारी दिए । गजल विधामा कलम चलाएका तर कृति भने प्रकाशित नगरेका नवप्रतिभालाई गलजमाला पुरस्कार प्रदान गरिँदै आएको गजल मञ्चले जनाएको छ ।
पुरस्कार लागि पूर्वाञ्चलका बिभिन्न जिल्लाका श्रष्टाहरुको गजल छनौट गरिएको थियो ।
उर्लाबारी गजल मञ्चको अभियान, नव श्रष्ट्राको पहिचान भन्ने नाराको साथ गजल मञ्चले मोफसलमा रहेर साहित्यिक गतिविधी गर्दै आएको छ ।



Comments