एमाले क्षेत्रीय अधिवेशनको रन्को




इश्वर भट्टराई,उर्लाबारी।
आसन्न एमालेको क्षेत्रीय अधिवेशन नजिकिँदै जाँदा मोरङ क्षेत्र नं. ९ का एमालेजन चुनावी रन्कोले तातेका छन् । क्षेत्रीय नेतृत्व हात पार्न नेताहरूबीच कडा प्रतिस्पर्धा छ । अधिवेशन आगामी शुक्रबारदेखि शुरू हुनेभएपनि केही हप्तादेखि नै मुख्य पदका लागि दौडधुप भइरहेको छ ।
केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालपक्षबीच देखिएको दुई समूह यहाँ पनि हावी भएको छ । अधिवेशनमा निवर्तमान सचिव पुष्प ढकाल र उर्लाबारी नगर कमिटी पूर्वअध्यक्ष गंगा बास्तोलाबीच प्रतिस्पर्धा हुने भएको हो । ढकाल अध्यक्ष ओली पक्षधर हुन् भने बास्तोला नेपालनिकट मानिन्छन् । यस्तै, वर्तमान अध्यक्ष उपेन्द्र घिमिरे सर्वसम्मत भए फेरी दोहोर्‍याउने मनस्थितिमा रहेको एमाले वृत्तमा चर्चा छ । यसअघि पनि उनी निर्विरोध चुनिएका थिए । यसपटक भने दुई प्रत्यासीबीच सर्वसम्मत नभएमा निर्वाचनबाटै नेतृत्व चयन हुने छ । निर्वाचनमा ढकाल र बास्तोला भिड्ने संकेत देखा परेको कार्यकर्ताहरू बताउँछन् । संयोग नै मान्नुपर्छ, दुबै प्रत्यासी उर्लाबारीका हुन्।


अध्यक्षलगायत पदाधिकारी पद आफ्नो पक्षमा सुरक्षित गर्ने ध्याउन्नमा नेताहरू आफ्नो गुटदेखि जिल्ला तथा केन्द्रीय नेतालाई गुहारिरहेका छन् । अधिवेशनको मुखमा ढकाल र बास्तोला पक्षले गुटगत भेला र बैठक बाक्लो बनाएका छन् । प्रत्यासीको चहलपहलसँगै एमालेजनमा जीत र हारको अड्कलबाजीसमेत भइरहेको छ । अधिवेशन फागुन ३० गते नेतृत्व चयन गर्दै समापन हुनेछ ।
२०४२ सालदेखि पार्टी राजनीतिमा सक्रिय ढकाल कुशल नेतृत्व र कार्यकर्तामाझ बढ्दो लोकप्रियताकै कारण पार्टीको विभिन्न जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । मधुमल्लास्थित मनोहर जनता उच्च माविबाट विद्यार्थी राजनीतिको कमिटीमा रहेर राजनीतिक जीवन आरम्भ गरेका ढकालको लोकप्रियताकै कारण जीत सुनिश्चित रहेको कार्यकर्ताको विश्लेषण छ ।
यस्तै, २०३६ सालदेखि राजनीतिक जीवन आरम्भ गरेका बास्तोला उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु सभापतिसमेत भइसकेका छन् । उर्लाबारी नगरअध्यक्ष हुँदा पार्टीप्रति उनले देखाएको लगनशीलतालाई कार्यकर्ताले अझैं प्रशंसा गर्ने गरेका छन् ।

क्षेत्रमा नेपाल पक्ष बलियो रहेकाले बास्तोलाको सुनिश्चित जीत हुने एकथरी कार्यकर्ताको आंकलन रहेको छ भने वर्तमान अध्यक्ष ओलीका खम्बाका रूपमा रहेका ढकालको लोकप्रियता चुलिँदै गएको अर्काथरी कार्यकर्ताको ठम्याइ छ । केन्द्रमा बढ्दो गुटगत राजनीतिलाई चिर्दै सक्षम र कर्मठ उम्मेदवारलाई जिताउनुपर्ने केही कार्यकर्ताको भनाइ पनि छ । कार्यकर्ताकाअनुसार बास्तोलाभन्दा ढकालको लोकप्रियता क्षेत्रमा बढी रहेकाले सम्भावना बलियो रहेको छ । यद्यपि आगामी २३ गते प्रतिनिधि छनौटले कसको पल्ला भारी हुने हो त्यो हेर्न बाँकी नै छ ।
उता क्षेत्रीयस्तरमा दुवै प्रत्यासीमाथि बेलाबखतमा विभिन्न आरोपपनि लाग्दै आएका छन् । गत निर्वाचनमा पार्टीले व्यहोर्नु परेको पराजयको एउटा कारण बास्तोला र ढकालको आत्मपरक र मनचिन्ते काम गराई भएको आरोप लाग्ने गरेको छ । बास्तोलामाथि निर्माणाधीन पार्टी भवन अलपत्र बनाएको आरोप छ भने ढकालमाथि निर्वाचनताको समयमा अन्य लोकप्रिय उम्मेदवार हुँदाहुँदै घनश्याम खतिवडा नै हुनुपर्ने जोडबल गरेकाप्रति स्थानीय नेता रूष्ट छन् ।








Comments