शिविरमा भुटान स्वतन्त्र जनमञ्च गठन



८ चैत, दमक।
भुटानी शरणार्थीहरुको आन्दोलनलाई सशक्त बनाउन झापाको दमकमा भुटान स्वतन्त्र जनमञ्च गठन गरिएको छ । आइतबार पत्रकार सम्मेलन गरी मञ्च स्थापना भएको औपचारिक रुपमा घोषणा गरिएको हो ।
भुटानी आन्दोलन सम्बन्धी अध्ययनकर्ता अधिबक्ता टोम अधिकारीको अध्यक्षतामा ४९ सदस्यीय केन्द्रीय समिति र १० सदस्यीय एक सचिवालय समितिसमेत गठन गरिएको जनाइएको हो ।
घोषणासभामा बोल्दै उनीहरुले शरणार्थीहरुका न्यायोचित मुद्दाहरुलाई एकीकृत ढंगले अघि बढाउन विशुद्ध सामाजिक संस्थाका रुपमा मञ्चले काम गर्ने उल्लेख गरे।




नवगठित मञ्चका अध्यक्ष अधिकारीले शिविरमा रहेका तथा शिविर बाहिर र तेश्रो मुलुकमा पूनर्बास भएका भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको प्रकृयालाई प्रमुखताका साथ उठाउन मञ्चले आवश्यक पहल गर्ने प्रतिवद्धता गरेका थिए । उनले भने, 'भुटानको प्रजातान्त्रिक तथा मानवअधिकारवादी आन्दोलनहरुमा सकरात्मक योगदान पुर्‍याउन शरणार्थीहरुको अधिकारलाई सुनिश्चित गर्न सवैसँग समन्वय गरी अघि बढ्छौं।'
सोही अवसरमा मञ्चले शरणार्थीहरुको स्वदेश फिर्ती प्रकृया अविलम्ब सुचारु गर्न लगायतका विभिन्न माग राख्दै नेपाल तथा भुटान सरकार, मानवअधिकार संघसंस्थाहरुलाई ध्यानाकर्षण गराएका छन् । मञ्चले नेपाल-भुटान बीचको द्विपक्षीय वार्ता तुरुन्त गर्न तथा सो वार्तामा भुटानी शरणार्थीहरुको प्रतिनिधी राख्न र शरणार्थीहरुलाई भुटानी र गैरभुटानी मात्र भनेर दुई श्रेणीमा विभक्त गर्न माग राखेका उल्लेख छ । यसैगरी भुटानी जेलमा रहेका सवै राजनीतिक बन्दीहरुको तुरन्त रिहाई तथा पूनर्स्थापना गर्न माग गरिएको छ । भुटानमा रहेर पनि नागरिक तथा राजनीतिक अधिकारबाट बञ्चित बनाइएकाहरुलाई आफ्ना हक, अधिकार प्राप्त गरियोस् भनी माग उठाएको मञ्चले जनाएको छ ।


घोषणासभामा नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य डाक्टर केपी सुवेदी, भुटानी अगुवाहरु कमल कोइराला, हर्कजङ सुब्बा लगायतकाले भुटानी शरणार्थीहरुको स्वदेश फिर्ता हुन पाउनु पर्ने जायज माग सम्बोधन गर्न दुवै देश चुकेको उल्लेख गरे । त्यस कार्यक्रममा भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका अध्यक्ष डाक्टर भम्पा राई, भुटानी नेता डिवी काफ्ले, शनिश्चरे शिविर सचिव चम्पासिंह राई लगायतको उपस्थिती रहेको थियो ।




Comments