बिष्फोटक पदार्थ र घरेलु हतियारसहित चार पक्राउ



१ चैत, सुनसरी।
सुनसरीको धरानबाट प्रहरीले आज बिहान बिष्फोटक पदार्थ र केही थान घरेलु हतियारसहित चारजनालाई पक्राउ गरेको छ ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगर, क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला भोजपुर कोट गा.वि.स. वडा नम्बर ६ का सन्तोष राई, उद्धिम राई, हेमन्त राई, र भोजपुर तिवारीभन्ज्यङ्ग गा.वि.स. वडा नम्बर ६ का वसन्त राई रहेका छन् ।



उनीहरुको साथबाट प्रहरीले एक थान चक्कु, दुई थान कट्टी जस्ता घरेलू हतियार, १२ थान जिलेटिन, २३ थान इलेक्ट्रोनिक डिटोनेटर नामको विस्फोटक पदार्थ बरामद गरेको हो। साथै दुई थान डायरी, नगद ७९ हजार ७ सय २० रुपैयाँ र ३ थान मोबाइलसमेत बरामद भएको छ ।
धरान उपमहानगरपालिका १७ की प्रनिता राईको घरमा डेरा गरी वस्ने भगवती राईको कोठामा पाहुना आएका ती युवाहरुलाई प्रहरीले विशेष सुचनाको आधारमा चेकजाँच गर्दा उनीहरुको झोलाबाट उक्त बिष्फोटक पदार्थ र घरेलु हतियार बरामद भएको थियो।
पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।




Comments