आरपी सहयात्री
९ मार्च, युएई ।
अपाङ्गका लागि सबै कुरा असम्भव भन्ने हुँदैनन् र सबै अपाङ्गहरु असक्षम हुँदैनन् भन्ने सन्देश बोकी विश्व भ्रमणमा निस्केका नेपालका एकमात्र पोलियो संक्रमित अपाङ्ग साइकलयात्री चित्र पौडेल भिसाको समस्याका कारण युएईमा जस्तै कतारमा पनि समस्यामा परेका छन् ।
गत जनवरी महिनाको पहिलो साता युएई आएका पौडेल ओमनको भिसा नमिलेका कारण कतारतर्फ लागेका थिए । खाडी राष्ट्र हुँदै युरोप भ्रमण गर्ने उद्देश्य बोकी टिकट सस्तोमा पाइने र स्थलमार्ग हुँदै यात्रा अगाडि बढाउने लक्ष्यका साथ गत जनवरी महिनामा करिब एक महिना यूएईमा बस्न बाध्य भएका थिए । कतारस्थित एनआरएनको सहयोगमा भिसा पाएर आफ्ना सहयोगी संचार उद्यमी बाबुराम थापाका साथ कतारमा गएका पौडेलले कतारमा पनि यूएईकै जस्तो समस्या भोग्नुपरेको बताए ।
नेपालका एकमात्र अपाङ्ग साइकलयात्री कतारबाट युरोप जाने भिसा नपाएका कारण नेपाल फिर्ता हुने अवस्थामा पुगेका छन् । पहिलेका साइकलयात्रीले जथाभावी बोल्ने, आफूलाई दिएको सम्मानपत्रको बेवास्ता गर्ने र रकम मात्र बटुल्ने क्रियाकलाप गरी साइकलयात्राको बदनाम गरेका कारण आफूले त्यसको असर भोग्नुपरेको उनले बताए ।
आफूले भिसाको लागि सहयोग माग्दा पनि नेपाली समुदायबाट जात र पार्टीको आधारमा भिसा दिने परिपाटी विकास भएको उनले गुनासो गरे । ‘मेरो त जात पनि नेपाल हो र पार्टी पनि नेपाल नै हो’, उनले भने, ‘भिसाको लागि सहयोग गर्ने नेपालीहरुले जात र पार्टीको आधारमा भेदभाव गरेको पाएँ । म कुनै राजनीतिक पार्टीको कार्यकर्ता होइन र बन्नु पनि हुन्न, मेरो मिसन फरक छ’, उनले भने, ‘तर यसपालि मेरो यात्रा कष्टपूर्ण रह्यो । निकै कष्ट गरेर बनाएको एक हजार डलरको ट्राभल चेक पनि खर्च गरी नेपाल जानुपर्ने भयो ।’
उनको साइकल यात्रामा सहयोग गर्न भनी नेपालदेखि उनीसँगै आएका गुल्मीका बाबुराम थापा पनि सोही समस्याले ग्रसित छन् । एनआरएन र क्रियाशील संस्थाहरुले भिसाका लागि पहल गरिरहे पनि अहिलेसम्म समस्या समाधान नहुँदा खर्चको अभावमा आफूहरु तनावमा रहेको र नेपाल नै फिर्नुपर्ने अवस्था सिर्जना हुन लागेको उनीहरुले बताए । ४५ दिनअघि नेपालबाट युएई आएका उनीहरु १८ दिनअघि कतार गएका थिए । अब नेपालै जानु परेका कारण यात्राको तालिका फरक पर्न सक्ने र त्यसो गर्दा साइकलयात्रा झनै खर्चिलो हुने उनीहरुले बताए।
अहिलेसम्म ५४ वटा देशको साइलकयात्रा गरिसकेका पोलियो रोगबाट संक्रमित पौडेलले आफ्नो युरोप यात्रामा सहयोग गर्न सम्बन्धित सबैलाई अपिल गरेका छन् । पाँच वर्षमै पोलियोबाट प्रभावित चित्र पौडेलको दायाँ खुट्टा सुकेको छ । हिँडाईको असहजता प्रस्ट देखिन्छ । बाँया खुट्टाको बलले साइकलको पाइडल दबाउँदै सन २००४ बाट विश्व साइकल यात्रामा निस्केका पौडेल अपाङ्गता असक्षमता होइन, भन्ने सन्देश बोकी कतार पुगेका हुन् । अपाङ्गलाई अवसरको खाँचो छ भन्ने आवाजलाई बुलन्द गर्न विश्वको विभिन्न देशको यात्रामा निस्केका पौडेलको स्थायी घर मोरङको बयरबन हो ।
झापाको लिटिल फ्लावर्स माविबाट एसएलसी सकेर सबैभन्दा पहिला माओवादी सशस्त्र द्वन्द्वकालमा नेपाल घुमेको अनुभव उनीसँग छ । नेपाल अपाङ्ग संघ झापाका अध्यक्ष धनुज श्रेष्ठको प्रेरणा र सहयोगमा विर्तामोडको प्रेम ट्रेडर्सबाट साइकल किनेर नेपाल, भारत लयागत सार्क राष्ट्रको भ्रमण गरिसकेका पौडेल आफ्नो यात्रालाई अगाडि बढाउन खाडी राष्ट्रको भ्रमणमा रहेको बताउँछन् । अपाङ्गहरुको आत्मबल बढाउन आफूले यात्रा थालेको बताउने पौडेल आफ्नो विश्व साइकल यात्रालाई अगाडि बढाउन विश्वभरि रहेको एनआरएनको सञ्जाल र त्यसमा आबद्ध नेपालीहरुलाई आग्रह गरेका छन् । युरोपको भ्रमण गर्ने सोचमा रहेका पौडेल नेपाल, नेपाली र सम्पूर्ण अपाङ्गहरुको नाम चम्काउन १२० देशको भ्रमण गर्ने अभियानमा छन् । साथै सगरमाथा शिखरको आरोहण गरी गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउने लक्ष्य पनि पौडेलले लिएका छन् ।
विभिन्न उद्देश्य बोकी नेपालबाट विश्व साइकल यात्रामा निस्केका ९० जना जति नेपाली विश्व साइकल यात्रीहरुमा चित्र पौडेलको फरक विशेषता भनेको उनी पोलियो संक्रमित हुन् । भिसाको समस्या समाधान गर्नका लागि युरोपका विभिन्न देशका जिम्मेवार संघसंस्था तथा पदाधिकारीहरुसँग नियमित सम्पर्क भइरहेको उनले बताएका छन् । सबैले प्रयत्न गर्दा पनि भिसाको समस्या समाधान नभएकोमा आफूहरु समस्यामा परेको उनीहरुले फेसबुकमार्फत सार्वजनिक गर्दै सहयोगका लागि अपिल गरेका छन् ।
.jpeg)
.jpeg)
Comments
Post a Comment