मोरङको बेलबारीमा यात्रुबस दुर्घटना, १२ घाइते




अनिल घिसिङ,
१४ चैत, बेलबारी।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा आज भएको सवारी दुर्घटनामा बाह्रजना घाइते भएका छन् ।
काँकडभिट्टाबाट बिराटनगरतर्फ गइरहेको मे१ख ११९७ नम्बरको यात्रुवाहक बस आज बिहान करिब साढे ८ बजे दुर्घटना भएको हो ।
त्रिवेणी यातायातको उक्त बस बेलबारीस्थित बेतना पुल नजिकै सडकबाट करिब १५ मिटर तल बेतना सिमसारको पोखरीमा खसेर सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेमा मोरङ डाँगिहाट-५ लक्ष्मीमार्गका ३३ बर्षीया गिता तामाङ, अठ्ठाइस बर्षीया मीना गुरुङ, बीस बर्षीया सरु मगर, १७ बर्षीया इन्जु मगर र १६ बर्षीया श्रृजना मगर रहेका छन् ।


त्यस्तै मोरङ पथरीकी १९ बर्षीया बितु तामाङ, केराबारी-१ की ४९ बर्षीया दिलमाया मगर, विराटनगरका १९ बर्षीय प्रदिप चौंलागाईं, झापा दमकका ४० बर्षीय मोहन भट्टराई, सुनसरीका चौबीस बर्षीय नारायण कट्टेल, ३८ बर्षीय उपेन्द्रकुमार शाह र ५० बर्षीय हीरा कट्टेल घाइते भएका छन् ।
घाइते सबैको बेलबारीस्थित बेलबारी सामुदायिक नोबेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीब्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा पोखरीमा खसेको सो बस बाहिर निकाल्ने प्रयास भइरहेको र बसका चालक फरार रहेको बेलबारी प्रहरीले जानकारी दिएको छ ।





Comments