महिला हिंसाविरुद्ध 'दोबाटे'



८ चैत, पथरी।
मोरङको पथरीशनिश्चरेस्थित कञ्चनजंघा नाट्य समूहले बढ्दो महिला हिंसा विरुद्धमा चेतनामुलक टेलिश्रृंखला निर्माण गरेको छ ।
पछिल्लो समयमा महिला हिंसाको घटना विरुद्ध भइरहेका कडा कारबाहीका मागका प्रसङ्गसहित हाँस्य टेलिश्रृंखला 'दोबाटे' को १८ औं भागलाई प्रस्तुत गरिने भएको छ ।
हिमशिखर टेलिभिजनबाट प्रत्येक विहीबार राती साढे ८ बजे प्रशारण हुने श्रृङ्खलाको सो भागका लागि महिला हिंसाविरुद्ध कडा रुपमा उत्रिएका महिलाहरुले शनिश्चरे चोकमा र्‍याली निकाले ।


त्यहाँ पुरुषहरु विरुद्ध कडारुपमा प्रस्तुत भएका महिलाबीच कविको प्रवेशले गल्ती गर्ने पुरुषमाथि कडा कानून बनाएर कारबाही गर्ने कुरामा समर्थन जनाएको छ । तर केही पुरुषले गरेको गल्तीका कारण समग्र पुरुषलाई दोषी देखाएर महिला र पुरुषबीचको दुरी बढाउन नहुने सन्देश दिइएको यसका लेखक र कलाकार मध्येका भूपेन्द्र तिम्सिनाले जनाए।
दोबाटेले यसअघि संविधान निर्माणमा १ महिने दवावपूर्ण खवरदारी कार्यक्रम ल्याएको थियो । त्यस्तै, होलि, स्वाइन फ्लु, प्रजातन्त्र दिवश लगायतका सन्दर्भमा पनि सचेतताका लागि व्यङ्ग्य प्रहार गरेको छ ।
०५७ सालमा स्थापित नाट्य समूहले मेचीदेखि महाकालीसम्मका ३ सय बढी स्थानमा चेतनामुलक सडक नाटक प्रदर्शन गरिसकेको छ ।






Comments