मेचीका ८ वटा छोटी भन्सार अझै बन्द, फाइदा प्रहरीलाई



१० चैत, दमक।
मेची भन्सार अन्तर्गतका आधा दर्जन बढी छोटी भन्सार कार्यालयहरु अझै बन्द छन् । भारतसँगको सीमा जोडिएका झापाका ८ वटा यस्ता भन्सार कार्यालयहरु सशस्त्र द्वन्द्वका क्रममा एकाएक विस्थापित भएपछि अझै पूनर्स्थापित हुन सकेका छैनन् । यस्ता छोटी भन्सार बन्द भएपछि सो क्षेत्रबाट तस्करी हुनेक्रम बढिरहेको स्थानीयहरुको भनाई छ ।
यसअघि मेचीका सबै छोटी भन्सार कार्यालयमध्ये चारवटा शान्तिप्रक्रियासँगै पूनर्स्थापना भएका थिए ।



आयात निर्यात हुने सामानको निगरानी राख्ने र आवश्यकताअनुसार भन्सार महसुल असुलेर सरकारको राजस्व लक्ष्यमा सहयोग पुर्‍याउने जिम्मेवारी पाएका ८ वटा छोटी भन्सार कार्यालय करिव नौ बर्षदेखि रित्तो छन् । ती कार्यालयमा शान्तिप्रक्रिया सुरु भएको दशक पुग्न लाग्दा पनि कर्मचारी त बस्दैनन् नै, भन्सार कार्यालयको नाममा रहेका कतिपय भौतिक पूर्वाधारहरुको समेत संरक्षण हुन सकेको छैन । भएका प्रायजसो पूर्वाधार जीर्ण भइसकेका छन् ।
मेची भन्सार कार्यालयका प्रमुख मुक्ति पाण्डेले आठवटा छोटी भन्सार कार्यालय अहिले बन्द रहेको जानकारी दिए । प्रमुख पाण्डेका अनुसार १२ वटा छोटी भन्सारमध्ये खजुरगाछी, भद्रपुर, नकलबन्दा र बाहुनडाँगी छोटी भन्सार मात्रै अहिले चालू छन् । सीमाका भारतीय बजार दिघल बैंकसँग जोडिएको कुमरखोद (झापा बजार) का साथै महाभरा, केचना, सतीघट्टा लगायतका आठ वटा छोटी भन्सार कार्यालय बन्द हुँदा दिनदहाडै भन्सार छलीका लाखौं मूल्यका सामान ओसारपसार हुने क्रमले प्रोत्साहन पाएको स्थानीयको भनाई छ । ती कतिपय नाकाहरुमा भन्सार कार्यालय नहुँदाको फाइदा स्थानीय जनपथ र सशस्त्र प्रहरीले उठाइरहेका बताइएको छ । भन्सार नहुनुको फाइदा पुलिसलाई नै भएको सर्वसाधारणको आरोप छ ।



Comments