'एमाले कमजोर हुँदा माओवादीको जन्म र दरवार हत्या काण्ड'



अनिल घिसिङ
७ चैत, बेलबारी ।
नेकपा एमालेले मोरङको बेलबारीमा नगर स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
एमाले नगर कमिटी बेलबारीको आयोजनामा आज बेलबारीस्थित मदनमोहन आश्रति पुष्परत्न साँस्कृतिक भवनमा नगर कमिटी र सो अन्तरगतका उप-कमिटीमा आबद्ध कार्यकर्तालाई प्रशिक्षण दिइएको हो ।
'मार्क्सवादको आधारभूत सिद्धान्त र जनताको बहुदलीय जनवाद' बिषयक प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष महेश रेग्मीले एमाले कमजोर भएमा प्रतिगामी शक्तिले चलखेल गर्ने बताए। रेग्मीले कारणबस एमाले कमजोर भएकै बखत बिगतमा माओवादी जन्मेको र दरबार हत्याकाण्ड भएको पनि उल्लेख गर्दै अब नेकपा एमालेले नेतृत्वदायी भूमिकामा चुक्न नहुने बताए।


कार्यक्रमका प्रमुख अतिथि पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको बिशेष परिस्थितिमा देशलाई निकास दिनकालागि पार्टीमा आबद्ध सबैले बिशेष भूमिका खेल्नुपर्नेमा जोड दिए।
सो कार्यक्रममा एमाओवादी पार्टी परित्याग गरी ९ जना एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गर्नेमा एमाओवादीका क्षेत्रीय सदस्य बिष्णुप्रसाद फुँयाल, दिनेश भट्टराई, गोविन्द दहाल, पार्टी सदस्य भोलानाथ दहाल, रामचन्द्र दहाल, पर्शुराम बाँस्तोला, लिला बिक, तिला खड्का र कुमार ढकाल रहेका छन् ।
एमाले प्रवेश गर्दै फुँयालले एमाओवादीमा आर्थिक र नैतिक विचलन आएको र पार्टीको सिद्धान्त जातीय हिंसा भड्काउनेतर्फ मोडिएकाले एमाओवादीमा बसिरहन नसकेको बताए।
एमाले बेलबारी नगर कमिटीका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कमिटी उपाध्यक्ष मिलन राईले स्वागत मन्तब्य राखेका थिए भने स्थानीय कलाकार हरि घिसिङले देशभक्ति गीत प्रस्तुत गरेका थिए ।


Comments