रामकुमार परियार
७ मार्च, युएई ।
शुक्रवार स्वदेशमा रंगहरुको पर्व होलि मनारहँदा प्रवासममा कार्यरत नेपालीहरुले समेत भरपुर मनोरञ्जनका साथ हंगामा मच्चाएका छन्।
युएईको नेपाली जनसम्पर्क समितिद्वारा आयोजित होलि विशेष सांगीतिक कार्यक्रममा सयौँ नेपाली एउटै थलोमा झुमेर धुमधामका साथ होलि हंगामा मच्चाएका हुन् ।
युएईकै सुन्दर एवं हरित नगरी अल एनको सुपर रेस्टुरेन्टको कार्यक्रम हलभित्र आयोजित होलि विशेष सांगीतिक कार्यक्रम तथा वनभोज करिब ९ घण्टा पूर्ण संगीतमय बनेको थियो । दिउँसो एकबजेको शुरूवाती समय तय गरिएको भएता पनि टाढाका सहभागी आउन केही ढिला हुँदा करिब एक घण्टा ढिलागरी कार्यक्रम शुरु गरिएको थियो ।
दौराशुरुवाल र ढाकाटोपीमा ठाँटिएका कार्यक्रम प्रस्तोता बलराम बस्नेत र संगिता मोक्तानको स्टेजमा पदार्पण भएसँगै दर्शक दीर्घाबाट हुटिङ बर्सिएको थियो । सुरुवातमा आयोजित छोटो औपचारिक कार्यक्रममा इन्जिनियर राकेशकुमार जैशवालले सभातित्व ग्रहण गरेका थिए भने समितिका केन्द्रीय सभापति चित्र केसीको प्रमुख आतिथ्य रहेको थियो ।
यहाँ कार्यरत विभिन्न परोपकारी संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्य ग्रहणपश्चात् प्रमुख अतिथिले मैनबत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । चन्द्रसारु मगर, अजय मिश्र, धर्मराज सुवेदी, रामकृष्ण पुन लगायत अतिथिहरुले छोटो मन्तव्यसमेत राखेका थिए ।
औपचारिक कार्यक्रमको समाप्तिसँगै नेपाली झण्डा फर्फराउँदै राष्ट्रिय गान गाएर सांगीतिक कार्यक्रमको शुरूवात गरिएको थियो । हलमा सयौं थुङ्गा... गुन्जिरहँदा हरेकको छाती गर्वले फुलेको अनुभूति सहजै गर्न सकिन्थियो । राष्ट्रगान सकिए लगत्तै कलाकारद्वय अनुराग थपलिया र शोभा लामाले होलि रे...बोलको गीतमा आकर्षक नृत्य पस्केर दर्शकलाई होलिपर्वको यथार्थता अनुभुत गराए । यसलगत्तै मोडल तथा कलाकार मिनुषा लामाले किन बड्दैछ ढुकढुकी...बोलको गीतमा स्वागत नृत्य पस्किएकी थिइन् । त्यसपछि स्टेज आएका अल एनका बहुमुखी कलाकार विवस ठकुरिको देशभक्तिपूर्ण गीतहरुको शिल्शिलेवार प्रस्तुतिले करिब ३० मिनेट दर्शकमा राष्ट्रप्रेम जगाएको थियो ।
चोर बिरालो पल्कियो...मा श्रृजना भण्डारी र कृष्ण थापाको युगल नृत्यले दर्शकको निक्कै वाहिवाही पाउन सफल भयो । त्यसपछि नेपालीपन र राष्ट्रप्रेम झल्क्ने गीतहरुमा शिलशिलेवार नृत्य पस्केर स्टेज तताउने विवस ठकुरी, शोभा लामा, अन्जली भट्टराई, नम्रता, मिनुषा, पुर्णिमा, अनिता, दिव्या आदिको नृत्यले दर्शकको निक्कै राम्रो साथ पाएको थियो ।
यस्ता आकर्षक नृत्यहरुको बिच बिचमा कार्यक्रम प्रस्तोताद्वयले समेत समयसापेक्ष विविध प्रसङ्गहरु जोडेर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे । कलाकार बलराम बस्नेतको समसमायिक राजनीति र सामाजिक बेथिति विरुद्धको व्यंग्य प्रहसनले दर्शक दीर्घामा हाँसोको बहार ल्याएको थिए । गायक विक्रम परियार, कमल कार्की, राजिव जंग, भुवन घिमिरे लगायतको गायन प्रस्तुतिले समेत दर्शकको निक्कै ताली बटुलेको थियो ।
अन्त्यतिर उध्रेको चोली... मा हट नृत्य पस्केर कलाकार जोत्सना प्रधानले हलको वातावरण नै गरमागरम बनाएकी थिइन्।
उक्त कार्यक्रम पूर्ण मनोरञ्जनात्मक हुँदाहुँदै पनि केही परोपकारी कार्यहरु समेत भए । दुवै मृगौला खराब भएर जीवन मरणको दोसाँधमा छटपटी रहेका गुल्मिका ३० वर्षिय चन्द्र बहादुर मगरको उपचारमा सहयोगार्थ दर्शकहरुबाट सहयोग संकलन गरिएको थियो । जसबाट संकलित १ हजार ३ सय २० दिराम मगरको उपचारार्थ सहयोग संकलन अभियानमा कृयाशील जनसम्पर्क समितिका सभापति चित्र केसीलाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी कार्यक्रममा यहाँ कार्यरत सन्तानसँग बस्दै आएका ज्येष्ठ नागरिक ७७ वर्षिय खुमनाथ पाठकलाई समेत सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा युएईको दुबई, अबुधाबी, फुजैरा, रास अल खेमा, अल एन लगायतका राज्यबाट करिब ५ सय नेपाली सहभागी थिए । प्रवासमा बिरलै आयोजना गरिने यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा आफुहरु ज्यादै खुसी भएको सहभागीहरुले प्रतिक्रिया दिएका छ्न् भने आयोजक नेपाली जनसम्पर्क समितिका केन्द्रीय सभापति चित्र केसीले समितिले नियमित रूपमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै प्रवासी नेपालीहरु बीचको सम्बन्ध सुदृढ र आत्मीय बनाउँदै लैजाने बताए ।

Comments
Post a Comment