लिम्बू विद्यार्थी मञ्चले स्थापना दिवस मनाउने




मोहन भट्टराई
२८ फागुन, पथरीशनिश्चरे।
लिम्बु विद्यार्थी मञ्चले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा लिम्बू संस्कृतिमा आधारित लघु चलचित्रको विशेष प्रदर्शनी गर्ने भएको छ ।
आज पथरीशनिश्चरेस्थित नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी मञ्चले आगामी चैत ४ गतेबाट पूर्वका नौ जिल्लामा उक्त लघु चलचित्र प्रदर्शनी गर्ने कुराको जानकारी दिएको हो । लिम्बुवानमा रहेर चलचित्र क्षेत्रमा पहिचान बनाउन सफल निर्देशक सागर केरुङद्वारा निर्देशित छवटा लघु चलचित्र प्रदर्शन गरिने जनाइएको छ । जसमा चैत ४ गते इलामको बाँझोमा, चैत ५ गते मोरङको पथरीशनिश्चरेमा, चैत ६ गते सुनसरीको धरानमा उक्त चलचित्रहरु प्रदर्शन गरिने मञ्चका केन्द्रीय महासचिव मनिष सम्बाहाम्फेले पत्रकार सम्मेलनमा जानकारी दिए । 'त्यसपछि अन्य जिल्लाहरुमा पनि मिति तय गरी कार्यक्रमलाई निरन्तरता दिनेछौं', महासचिव सम्बाहाम्फेले भने । उनका अनुसार पूर्वका नौ जिल्लामा प्रदर्शनी सकेर काठमाडौंमा समेत उक्त चलचित्र प्रदर्शन गरिनेछ ।



प्रदर्शनीमा पुङसाम, तुम्याहाङ, नाहेनलगायत ६ वटा लघु चलचित्रहरु राखिने मञ्चका केन्द्रीय उपाध्यक्ष विशाल आङदेम्बेले जानकारी दिए । 'चलचित्रमा लोप हुन लागेको लिम्बू संस्कृति झल्काउन खोजिएको छ भने कमी कमजोरीलाई उजागर गर्दै सुधार गर्न सुझाव दिइएको छ', उपाध्यक्ष आङदेम्बेले भने । कार्यक्रमलाई भव्य सम्पन्न गर्न सबैपक्षसँग सहयोगको लागि आग्रह समेत उनले गरे । पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष फिपराज बेघा र केन्द्रीय सदस्य इन्द्र लिम्बूको पनि सहभागिता रहको थियो ।
लिम्बू विद्यार्थीहरुको हकहितका लागि वि.सं. २०५५ साल चैत ६ गते स्थापना भएको लिम्बू विद्यार्थी मञ्चले विभिन्न समयमा अधिकार प्राप्तका लागि गतिविधिहरु गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै मञ्चका पदाधिकारीहरु । तस्वीर - मोहन ।


Comments