'पहिचान र संघीयतालाई छाडेर संविधान बन्दैन'



डिकेश लामा,
२८ फागुन, बेलडाँगी।
पहिचान र संघीयतालाई पाखा लगाएर कुनै पनि हालतमा संविधान बन्न नसक्ने पूर्व पश्चिम पहिचान यात्राका वक्ताहरुले बताएका छन् । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको आयोजनामा पहिचान यात्रामा निस्किएको टोलीले आज उर्लाबारीमा गरेको बृहत जनसभालाई सम्बोधन गर्दै पहिचान र संघीयतावादी नेताहरुले सो कुरा बताएका हुन् ।
सभामा संघीय समाजबादी पार्टीका अध्यक्ष अशोक राईले अन्तरिम संविधानले प्रदान गरेको अधिकारलाई स्थापित गर्न सवै राजनैतिक दलको सहमति भइसकेको र अव कुनै पनि हालतमा पहिचान र संघीयतको मुद्दालाई पाखा लगाएर संविधान बन्न नसक्ने बताए । राईले पहिचान कुनै भावना नभई वास्तविक यथार्थता स्वीकार्य बस्तु भएकोले यो अनिवार्य भएको वताए ।



सभामा बोल्दै एकिकृत नेकपा माओवादीका केन्द्रीय सचिव तथा पूर्व अर्थमन्त्री बर्षमान पुनले जनआन्दोलनले निर्धारण गरेको पहिचान र संघीयताको मान्यतालाई स्वीकार गर्न केही दलहरू तयार नभएक कारण देश अनिर्णयको बन्दी हुनु परेको बताए। निकासका लागि अनिवार्य पहिचान सहितको संघीयता र संविधान हुनु पर्ने पुनको भनाई थियो।
सभालाई सम्बोधन गर्दै नेवा देवुदय राष्ट्रिय संघका अध्यक्ष तथा आदिवासी जनजाति राष्ट्रिय आन्दोल समितिका सदस्य नरेश ताम्राकारले पहिचान यात्रा कुनै जातजातिको उठानका लागि मात्र नभई सवै धर्म, संस्कार, र जातिहरुलाई समान अधिकार दिलाउन सचेतना यात्रा भएको बताए ।
लिम्बुवान राष्ट्रिय पार्टीका अध्यक्ष कुमार लिङ्देन मिराकले पञ्चे, काँग्रेस र एमालेको संविधान लेख्ने पालो सकिएको र अव पहिचानबादी जनताको पालो आएको बताए । मिराकले सत्ताधारी पार्टीले जातीय विखण्डन गराउन खोजे पनि पहिचान र संघीयबादीहरुले अघि सारेको समानुपातिक सुत्रले सवैलाई जोड्ने दावी गरे ।



आदिवासी जनजातिका अगुवा नरबहादुर मोक्तानको अध्यक्षतामा भएको सभामा जनजाति नेता महेन्द्रजंग तामाङ्, नेकपा-माओवादीका कान्छा लावती, लिम्बुवान प्रान्तिय संघर्ष समितिका केन्द्रिय सचीव प्रेमदिप थाम्सुहाङ्ग, शेर्पा संघका महासचिव सोनाम शेर्पा, आन्दोलनका सदस्य भरत श्रेष्ठ, इन्द्रबहादुर गुरुङ्ग लगायत १ दर्जन जति नेताहरुले पहिचान र संघीयता सहितको संविधान निर्माणाबारे बोलेका थिए । सभामा तामाङ, धिमाल, मगर, लिम्बु, सन्थाल, मेचे लगायत विभिन्न जातिगत झाँकी तथा गीत नृत्य प्रस्तुत गरिएको थियो । आन्दोलनको कार्यक्रम भोलि धरानमा हुने यात्रा टोलीले जानकारी दिएको छ ।






Comments