हिमशिखर टेलिभिजनको राष्ट्रव्यापी प्रशारण शुरु




२५ फागुन, दमक।
झापाको दमकमा रहेको हिमशिखर टेलिभिजनले आजदेखि राष्ट्रव्यापी प्रशारण शुरु गरेको छ । टेलिभिजन स्थापनाको पाँचौ बर्ष प्रवेशका अवसरमा टेलिभिजनले आज यहाँ एक औपचारिक कार्यक्रम गरी प्रशारण शुभारम्भ गरेको हो ।
टेलिभिजनको प्रशारण शुभारम्भ उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए । उद्घाटन गर्दै मन्त्री बस्नेतले शान्ति र नयाँ संविधान ल्याउन सञ्चारमाध्यमहरुको रचनात्मक भूमिका अझै आवश्यक रहेको औंल्याए । कार्यक्रममा संबिधानसभाका सदस्यहरु महेन्द्रकुमारी सुब्बा, शिवकुमार मण्डल, हरि राजवंशी, कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे, पूर्वाञ्चल उद्योग वाणिज्य संघका क्षेत्रीय अध्यक्ष टंक दुलाल लगायतकाले संविधान बनेमात्र सञ्चारमाध्यमहरु बलियो हुने उल्लेख गरेका थिए ।


सोही कार्यक्रमका अवसरमा झापाका अग्रज पत्रकार मदन ढकाललाई सम्मान गरिएको थियो । उनलाई टेलिभिजनले पहिलोपटक स्थापना गरेको हिमशिखर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । सम्मानको राशी नगद २१ हजार एक सय रूपैयाँ र प्रमाणपत्र रहेको छ । बिर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिकका सम्पादक रहेका उनी ४३ बर्षदेखि पत्रकारिता पेशामा निरन्तर संलग्न रहेका छन् ।

हिमशिखर टेलिभिजनको राष्ट्रव्यापी प्रशारण शुभारम्भ गर्दै उद्योग मन्त्री बस्नेत (फोटो – विष्णु सुब्बा)





Comments