चेतनाको सेवाले सेवाग्राही लाभान्वित





तेजन खड्का
४ चैत, उर्लाबारी।
शहरमा मात्र अस्पतालहरु खुल्ने मान्यतालाई चिर्दै ग्रामीण क्षेत्रमा स्थापना भएको चेतना हस्पिटल प्रालि इटहराको सेवाबाट सेवाग्राही लाभान्वित भएका छन् । विशेषज्ञ डाक्टरसहित सर्वसुलभ मुल्यमा गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै उपलब्ध भएपछि सेवाग्राही लाभान्वित भएका हु्न् । अस्पताल खुलेसँगै सानातिना समस्याको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यतासमेत हटेको छ । सेवाग्राहीहरुको भीडले पनि हस्पिटलमा उत्साह छाएको छ ।



ग्रामीण क्षेत्रको विकास भन्ने नारालाई आत्मसात् गर्दै घरआँगनमै स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन चेतना हस्पिटल सञ्चालन भइरहेको सञ्चालक समितिका संयोजक बिदुर बस्नेतले जानकारी दिएका छन् । अस्पताल नाफाभन्दा पनि सेवामा कटिबद्ध रहेको बताउँदै संयोजक बस्नेतले चेतनाको सेवाले स्थानीयमा खुशीयाली छाएको बताए। अस्पतालाई नमुना बनाउन सबैको भूमिका उत्तिकै रहने उनको भनाई छ ।
१५ शैया रहेको यस चेतना हस्पिटलमा एकजना एमविविएस एमडी, एकजना स्टाफ नर्ससहित १५ जना स्वास्थ्यकर्मीहरु रहेका छन् । १ वर्षभित्रमा ५० लाख रुपैयाँ लगानी पुर्‍याई १० शैया थप अस्पतालको लक्ष्य रहेको हस्पिटलका अध्यक्ष खगेन्द्र बहादुर काफ्लेले बताए। अस्पतालले चौविसै घण्टा प्याथोलोजी सेवा, इसिजी सेवा, फार्मेसी सेवा र डिजीटल एक्सरे सेवासमेत दिँदै आएको छ । अस्पतालमा फिजिशियन, मुटुरोग, हाडजोर्नी स्त्री तथा प्रसुती सेवा, नाक कान घाँटी र वालरोग लगायतका स्वास्थ्य सेवासमेत उपलब्ध रहेको छ । अस्पतालका अध्यक्ष काफ्लेका अनुसार अस्पतालले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर र औषधि बितरणको कार्यक्रम ल्याउने भएको छ ।



स्थानीय जुझारु युवाहरुको सक्रियतामा स्थापना भएको अस्पताल गत माघ १६ गतेबाट सञ्चालनमा आएको हो । स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका विपन्न वर्गका समुदायको हितलाई ध्यानमा राखी अस्पतालले विपन्न तहसम्म सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ । ग्रामिण क्षेत्रमा रहेका जनतालाई उपचारमा सहुलियत प्रदान गर्ने नै मुख्य उद्देश्य रहेको अस्पतालले जनाएको छ । 'गरिब, निम्नवर्गीय र मध्यमवर्गीय जनतालाई लक्षित गरेर अस्पताल स्थापना गरेका छौं', अध्यक्ष न्यौपानेले भने, 'जनताले अनुभूति गर्नेगरी यस ठाउँको विकास सम्झेर सर्वसुलभ सेवा उपलब्ध गराउनेछौं ।'




Comments