झापामा एसएलसी मर्यादित र शान्त - निर्देशक राई



६ चैत, बिर्तामोड।
पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक माया राईले झापामा एसएलसी परीक्षा व्यवस्थित, शान्तिपूर्ण र मर्यादित रुपमा सञ्चालन भएको पाइएको बताएकी छिन् ।
एसएलसी परीक्षाको अनुगमनका क्रममा झापा आइपुगेकी क्षेत्रीय शिक्षा निर्देशक राईले आज शुक्रवार शनिअर्जुन ५स्थित लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्रको अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै त्यस्तो बताएकी हुन् ।



निर्देशक राईले अरु जिल्ला र झापाकै अरु परीक्षा केन्द्रको तुलनामा लक्ष्मी मावि केन्द्रमा अत्यन्त व्यवस्थित ढंगले परीक्षा सञ्चालन भएको पाइएको बताइन्। परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण सूचनाहरु फ्लेक्स प्रिन्ट र अन्य प्रिन्टमार्फत सबैले बुझ्ने र देख्ने गरी राखेर लक्ष्मी माविले परीक्षालाई अति व्यवस्थित ढंगले सञ्चालन गरेको निर्देशक राईको प्रतिक्रिया छ । उक्त परीक्षा केन्द्रमा सोही विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ता केन्द्राध्यक्ष रहेका छन् ।
'परीक्षालाई अत्यन्त व्यवस्थित र मर्यादित बनाउन लक्ष्मी माविले सञ्चालन गरेको अभ्यास उत्कृष्ट छ', क्षेत्रीय शिक्षा निर्देशक राईले भनिन्, 'त्यस्तो अभ्यास अरुले पनि सिक्नुपर्छ र सिकाउनुपर्छ ।' निर्देशक राईले लक्ष्मी माविजस्तो परीक्षा केन्द्र मुलुककै नमूना र उत्कृष्ट हुन सक्ने बताइन्।
उनले समग्रमा झापा जिल्लाको परीक्षा सम्भवतः अन्य जिल्लाको तुलनामा नमूना बन्न सक्ने बताइन्।
जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले लक्ष्मी मावि परीक्षा केन्द्र र केन्द्राध्यक्ष गुप्ताको सक्रियताको प्रशंसा गरे। उनले लक्ष्मी माविले परीक्षालाई उत्कृष्ट बनाउन अवलम्बन गरेका उपायहरुबाट अरुले धेरै सिक्न सक्ने बताए।
जिल्लाको समग्र परीक्षाको स्थितिबारे उल्लेख गर्दै जिशिअ लुइँटेलले परीक्षा समितिको निर्देशन सबैतिर पालना भएको, व्यवस्थित ढंगले परीक्षा सञ्चालन भइरहेको र त्यसबाट आफू खुशी र सन्तुष्ट रहेको बताए।




क्षेत्रीय शिक्षा कार्यालयका उपनिर्देशक चुडामणि फुँयल, शिक्षा कार्यालय झापाकी विद्यालय निरीक्षक जानुका गुरागाईँ, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष गोपाल प्याकुरेल, नेपाल शिक्षक मञ्च झापाका अध्यक्ष लखनलाल राजवंशी, नेपाल विद्यालय कर्मचारी परिषद् झापाका अध्यक्ष जगेनलाल राजवंशीले पनि लक्ष्मी माविको परीक्षा नमूनाको रुपमा अत्यन्त व्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइएको बताएका छन् । 'झापामा एसएलसी शान्त, व्यवस्थित र मर्यादित छ', अनुगमनकर्ता तथा पर्यवेक्षकहरुको भन्छन्, 'परीक्षा केन्द्रहरुमध्ये लक्ष्मी माविमा परीक्षा सम्बन्धी प्रवाह गर्नुपर्ने सूचना फ्लेक्स चार्टमा डिस्प्ले गरेर राखिएको कार्य सह्राहनीय र राम्रो छ ।'
लक्ष्मी माविमा टावर टेम्पल, कनकाई, रुद्र मेमोरियल, कावेली बोर्डिङ र देवी उच्च माविका खुल्लातर्फका तीन सय २४ जनाले परीक्षा दिइरहेका छन् ।
उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष गुप्ता १४ बर्षदेखि केन्द्राध्यक्ष भइ परीक्षा सञ्चालन गर्दै आएका छन् । अरुभन्दा नयाँ र रचनात्मक काम गर्न रुचाउने गुप्ता २०६९ सालमा कालीस्थान मावि परीक्षा केन्द्रको केन्द्राध्यक्ष हुँदा जिल्लाकै उत्कृष्ट केन्द्राध्यक्षको रुपमा पुरस्कृत भएका थिए । 'त्यसैको प्रेरणाले अझ राम्रो गर्ने ऊर्जा प्राप्त भयो, र राम्रो गर्ने कोशिसमा छु', गुप्ताले भने । २०७० सालमा उनी बाल्मीकि एजुकेशन फाउण्डेशन परीक्षा केन्द्रको केन्द्राध्यक्ष भएका थिए । आफ्नै खर्चमा उनले परीक्षाका लागि आवश्यक फ्लेक्स, चार्ट लगायतका सामग्रीको व्यवस्थापन गरेको बताइन्छ । त्यस बर्षपनि गुप्ता जिल्लाकै उत्कृष्ट हुनुका साथै देशकै उत्कृष्ट ६ केन्द्राध्यक्षहरुमा पर्न सफल भएका थिए । उनी प्रधानाध्यापक रहेको लक्ष्मी मावि भने एसएलसी परीक्षाका लागि यसै बर्षबाट स्वीकृति पाएको नयाँ केन्द्र हो ।

तस्वीरमा
शनिअर्जुन ५स्थित लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्रको अनुगमन गर्दै पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक माया राई ।




Comments