लाखौं रुपैयाँ ठगेर भारतीय व्यापारी फरार, सहकारीसमेत छोडेनन्



दमक।
झापाको दमक १२ स्थित हनुमान मन्दिरनजिकै केही वर्षदेखि फेन्सी कपडाको व्यापार गर्दै आएका भारतको कुचविहार घर बताउने निखिल नाथ लाखौं रुपैयाँ ठगी गरेर फरार भएका छन् ।
४० वर्षीय नाथ विगत पाँच वर्षदेखि सो स्थानमा डेरा बसेर व्यापार गर्दै आएका थिए । उनले दमकस्थित द एभरेस्ट र एकजुट कृषि सहकारी संस्थासहित विभिन्न व्यक्तिसँग सरसापटी स्वरुप ब्याजमा सापटी लिएको लाखौं रुपैयाँ ठगी गरेका बताइएको छ । उनले ठगी गरेको संस्थागत ऋणका आधिकारिक कागजातहरु भए पनि व्यक्तिगत सरसापटी लिएको रकम केकति हो भन्ने यकिन हुन सकेको छैन । तापनि कम्तीमा आठ दश जनाले अहिले तीस लाख रुपैयाँभन्दा बढी रकम आफूहरुबाट लिएर करीब दुई सातादेखि नाथ परिवारसहित सम्पर्कबिहीन भएको बताएका छन् ।



ती व्यक्तिले आफ्नो सहकारीबाट दैनिक किस्ता तिर्ने सर्तमा लिएको ५० हजार रुपैयाँमध्ये ४० हजार रुपैयाँ असुल हुन बाँकी रहेको एकजुट कृषि सहकारी संस्थाका कोषाध्यक्ष भरत अर्यालले जानकारी दिए । अर्यालले भने, 'हाम्रो सहकारीमा मात्रै ४० हजार तिर्न बाँकी देखिएको छ, अरु थुप्रै सर्वसाधारणको पनि रकम लिएर रातारात भागेको छ ।' नाथले सञ्चालन गर्दै आएको पसलमा करीब ५ लाख रुपैयाँ बराबरका सरसामान हुन सक्ने जानकारहरुले बताएका छन् ।
भारतीय नागरिकले यतिधेरै रकम ठगेर भागेपछि पीडित सर्वसाधारण आक्रोसित भएका छन् । उनीहरुले फरार नाथको खोजी गरी पक्राउ गर्न स्थानीय प्रहरी प्रशासनले कदम चाल्नुपर्ने माग पनि गरेका छन् ।






Comments