२ सय १० किलोमिटर पाइप जडान गरी खानेपानी वितरण




११ चैत, दमक।
झापाको दमकमा खानेपानी बिस्तारका लागि दुईवटा नयाँ ट्याङ्की निर्माणसँगै धमाधम पाइपलाइन बिस्तार भइरहेको छ ।
तीन वर्ष अघिसम्म ४१ किलोमिटरमा सिमित पाइप जडान यस वर्ष २ सय १० किलोमिटर पुर्‍याइएको छ । एशियाली विकास बैंकको सहयोगमा सरकारमार्फत खानेपानी बितरण सुधार तथा बिस्तार कार्यक्रम शुरु भएपछि नयाँ क्षेत्रमा पनि पानी पुर्‍याउन पाइप जडान गरिएको दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।
संस्थाका व्यवस्थापक कृष्ण थापाका अनुसार दमक-१ र १५ नम्बर वडामा नयाँ ट्याङ्की निर्माण गरिए पनि खानेपानी नपुगेका वडामा समेत पानी पुर्‍याउन पाइप जडान गरिएको हो । यो सँगै पुराना सवै ४१ किलोमिटर पाइप काम नलाग्ने भएकाले ती स्थानमा समेत नयाँ पाइप बिस्तार गरिएको छ । हाल उपयोग गरिएको पाइप खिया नलाग्ने र पानीमा प्रदुषण नहुने डीआई र एचडीपी प्रविधिको रहेको उनले जानकारी दिए।



बारम्बार पाइप बिस्तार गर्दा सडक भत्काउनु पर्ने अवस्था आउने गरेकाले यस्तो समस्या समाधानका लागि सडकका दुवै तर्फबाट पाइप बिस्तार गरिएको संस्थाका अध्यक्ष पशुपतिराज गौतमले जानकारी दिए। नेपालमा नै पहिलोपटक यस ढंगबाट पाइप बिस्तार गरिएको उनको दावी छ । निर्माणको अन्तिम चरणमा रहेका दुवै ट्याङ्कीको क्षमता ४ लाख ५० हजार लिटर रहेको छ ।
करिव ९० प्रतिशत निर्माण पूरा भई सकेकाले वडा नम्बर १५ को ट्याङ्कीबाट परीक्षणका रुपमा पानी बितरण थालिएको छ । अध्यक्ष गौतमका अनुसार वडा नम्बर १३, १४ र १५ का बिभिन्न क्षेत्रमा पानी बितरण शुरु भएको हो । वडा नं.१ मा निर्माणाधिन ट्याङ्कीबाट समेत आगामी बैशाखदेखि परीक्षणका रुपमा पानी बितरण थालिने उनले बताए।
एशियाली विकास बैंकको ५० प्रतिशत अनुदानमा २७ करोड २८ लाख रुपैयाँको लागतमा खानेपानी बितरण सुधार तथा बिस्तार कार्यक्रम शुरु भएको हो । सोमध्ये आधा भने उपभोक्ताले व्यहोर्नु पर्ने सर्त रहेको छ ।

उपभोक्ता लागत सहभागीताका लागि व्यहोर्नु पर्ने रकममध्ये ३५ प्रतिशत नगर विकास कोषबाट ऋण लिइएको जनाइएको छ । २० वर्षमा तिरिसक्नु पर्ने ऋण ५ प्रतिशत व्याजदरमा लिइएको संस्थाले जनाएको छ।




Comments