डाँस गंगासागरमा आर्यघाट निर्माण



मोहन भट्टराई
२७ फागुन, पथरीशनिश्चरे।
मोरङको पथरीशनिश्चरेस्थित डाँसखोलामा व्यवस्थित शव दाहस्थल निर्माण हुने भएको छ । पूर्वपश्चिम राजमार्ग उत्तर डाँसखोलाको पूर्वी तटमा व्यवस्थित आर्यघाट निर्माणका लागि बुधबार संविधानसभा सदस्य एवं मोरङ क्षेत्र नं. २ का सभासद चण्डीप्रसाद राईले एक कार्यक्रमकाबीच डाँस गंगासागर शव दाह स्थल तथा मलामी खाजाघरको शिलान्यास गरेका छन् ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेको पूर्वी मोरङको जिरिखिम्तमा आर्यघाट सञ्चालनमा आएपछि दाहसँस्कार सहज बन्ने स्थानीयको विश्वास छ ।



शिलान्यास कार्यक्रममा सभासद चण्डीप्रसाद राईले पथरीशनिश्चरेको उत्तरी क्षेत्रका बासिन्दाका लागि शव दाहस्थल आवश्यकता खडि्कएको बेला निर्माण हुन लागेको यस आर्यघाटले ठूलो राहत दिने बताए। उनले आर्यघाट निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचत समेत दिए। उजले डाँस गंगासागर आर्यघाट मात्र नभई डाँस खोलालाई नै गुरुयोजना बनाई तटबन्ध निर्माण गर्ने र सातवटा चिताभूमि निर्माण गर्ने उद्देश्य रहेको बताए। 'डाँसखोलाको मुहान लेटाङ-जाँतेदेखि नै तटबन्ध निर्माणका लागि बृहत्तर योजना बनाई काम गर्न मैले पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको सहयोगमा सिंचाई मन्त्रालय र विभिन्न दाता निकायमा पहल सुरु गरिसकेको छु', सभासद राईले भने, 'त्यसभित्र यस किसिमका शवदाह स्थल करिव ७ स्थानमा निर्माण गर्ने योजना छ ।'


शिलान्यास कार्यक्रममा समाजसेवी सूर्य श्रेष्ठले यसअघि व्यवस्थित शव दाहस्थल नजिकै नहुँदा कन्काई, चतरा, कोसीसम्म टाढा जानुपर्ने बाध्यता रहेको बताए ।
उक्त अवसरमा शान्ति किर्तन मण्डलीका तर्फबाट वेदी निर्माण गर्ने, पण्डित रेवतकृष्ण अधिकारीले १० बोरा सिमेन्ट, भरत आचार्यले ५ बण्डल जस्तापाता, मनमाया कार्कीले ५ बोरा सिमेन्ट सहयोग गर्ने बचन दिएका थिए ।
डाँस गंगासागर शवदाह स्थल निर्माणका लागि सुरेशकुमार कार्कीको संयोजकत्वमा एक निर्माण समिति समेत गठन गरिएको छ । जसमा मनमाया कार्की, सूर्यबहादुर श्रेष्ठ, भरत आचार्य, अटल भण्डारी, पर्शुराम कार्की, नृपबहादुर भण्डारी, केवलकृष्ण अधिकारी र रमेश कार्की सदस्य रहेका छन् ।
पथरीशनिश्चरे मलामी खाजाघर तथा विश्रामालय व्यवस्थापन समितिका अध्यक्ष टंक फुयाँलका अनुसार योजनामा खोलाको किनारमा पक्की शव दाह स्थल (वेदी), तटबन्ध, विश्रामालय निर्माण, राजमार्गबाट आर्यघाटसम्म मलामिजन हिँड्ने बाटो निर्माणलगायतका कार्यलाई समावेश गरिएको छ ।

शिलान्यास गर्दै सभासद राई । (तस्विर ( मोहन)



Comments