ज्यादती भयो भन्दै सयौं ब्यापारी सडकमा



तेज बन विश्वासी
४ चैत, इटहरी।
व्यक्तिको जग्गा भाडामा लिएर ब्यापार गर्दै आएका ब्यापारीहरुको टहरामा मंगलवार डोजर प्रयोग गरी भत्काएको बिरोधमा बुधवार इटहरी उपमहानगरपालिकाको सो कदमबिरुद्ध सयौं ब्यापारीहरु सडकमा उत्रिएका छन् ।
अब्यवस्थित बजारलाई ब्यवस्थित बनाई बजार बिस्तारसमेत गर्ने उद्देश्यले ब्यापारीहरुको ८० वटा टहरा भत्काएको बिरोधमा बुधवार आइतवारेलगायत इटहरी आसपासका ब्यापारीहरु आन्दोलित बनेका हुन् ।





उपमहानगरले आफूहरूलाई कुनै जानकारी नै नदिई एकाएक डोजर लगाई आफूहरूको करोडौंको क्षति गरेको भन्दै ब्यापारीहरुले बिभिन्न नारा सहितको प्लेकार्ड बोकी बजार परिक्रमा गर्दै उपमहानगरपालिका अगाडी धर्नासमेत दिएका छन । सोही आन्दोलन र धर्नाका कारण बुधवार पनि पिडित ब्यापारीहरुले इटहरी उपमहानगरपालिकामा २ घण्टा कामकाज ठप्प बनाएका छन् ।
उपमहानगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र धिमाल आफैंले बजारमा डोजर चलाउने आदेश दिएकोमा उनैलाई छानविन समितिको संयोजक बनाएपछि ब्यापारीहरु झनै आक्रोशित बनेका छन् । 'जसले बजारमा डोजर चलाउने हुकुम दिएको छ, उसैलाई छानविन समितिको अध्यक्ष बनाइनु, यो ब्यापारीहरुमाथि कस्तो न्याय गर्न खोजिएको हो ?' ब्यापारी सतिश पोख्रेल प्रश्न गर्छन् ।
आन्दोलनमा उत्रिएका ब्यापारीहरुले बिना जानकारी डोजर लगाएर टहरा भत्काउने क्रममा भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति रकम यथासिघ्र उपलब्ध गराउनु पर्ने, इटहरी उपमहानगरपालिकाले ब्यापारीहरुमाथि गरेको गुण्डागर्दीको झुकेर माफी माग्नु पर्ने, उपमहानगरपालिकाकै कार्यकारी अधिकृत पशुपति खतिवडा र प्रसाशकीय अधिकृत राजेन्द्र धिमालले तत्काल आ-आफ्नो पदबाट राजीनामा दिनुपर्ने जसता मागहरु राखेका छन् ।
मागहरु पुरा नभए बिहीबारदेखि उपमहानगरपालिकाको सम्पूर्ण कामकाज ठप्प बनाई सडकमा चक्काजामसम्म गर्ने पिडित ब्यापारीहरुले चेतावनी दिएका छन् ।


Comments