व्यापाारीले अटेर गरेपछि करोडौंको लगानी क्षणभरमै ध्वस्त





तेज बन विश्वासी
३ चैत, सुनसरी।
इटहरी उपमहानगरपालिका क्षेत्रमा सडक मिचेर बनाइएका टहराहरु मंगलवार उपमहानगरपालिका र प्रहरीको सक्रियतामा भत्काइएको छ । उपमहानगरपालिकाले पटकपटक आग्रह गर्दा पनि ब्यापारीहरुले अटेर गरेपछि मंगलबार बिहान बल प्रयोग गरी भत्काइएको हो ।
इटहरीको आइतबारेमा ब्यक्तिको जग्गा भाडामा लिएर ब्यापार गर्दै आएका ५० भन्दा बढी ब्यापारीहरुको टहरा उपमहानगरपालिकाले प्रहरीको सहयोगमा डोजर प्रयोग गरी भत्काएको हो । इटहरीको बजारलाई ब्यवस्थित बनाउने उद्देश्यले करोडौंको भवन निर्माण गरी बुधवारे हाटमा बजार सार्न पटकपटक आग्रह गर्दा पनि कुनै ब्यापारीहरुले नसुनेपछि मंगलवार बल प्रयोग गरी सबै टहरा भत्काइएको इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले बताए ।



उपमहानगरपालिकाले बल प्रयोग गरेर आइतवारे क्षेत्रमा सञ्चालित बजार भत्काइदिएपछि करोडौंको क्षति भएको पिडित ब्यापारीहरुले बताएका छन्। बजार क्षेत्रको टहरा भत्काउने क्रममा उपमहानगरपालिकाले कुनै सूचना नदिएको र आफुहरुको आवश्यकीय सामानहरु समेत निकाल्न नदिई जबरजस्ती डोजर लगाई टहराहरु भत्काइदिएको पिडित ब्यापारीहरुले बताएका छन् ।
'कमसेकम हामीलाई समय दिनु पर्ने हो नि, हामीले हाम्रो सामान त निकाल्न पाउँथ्यौं', पिडित ब्यापारी अनिस भट्टराईको गुनासो छ। बल प्रयोग गरी सडक मिचेर बनाएका टहराहरु भत्काउने क्रममा ४० लाख रूपैयाँ लगानी गरी केही दिनदेखि सञ्चालनमा आएको आइसक्रिम पार्लरसमेत भत्काइएको छ । बिना जानकारी ठुलो लगानीको पार्लर बल प्रयोग गरेर भत्काइदिनु इटहरी उपमहानगरपालिकाले ब्यापारीमाथि ज्यादती गरेको सो पार्लरका सञ्चालक कुमार बुढाथोकी बताउँछन्।
डोजर लगाइ तोडफोड मच्चाउँदा पार्लर भित्रको फ्रिज, कम्प्युटर, अत्याधुनिक मेसिनलगायत अन्य उपयोगी उपकरणमा क्षति पूग्दा करीब ५० लाख रूपैयाँ बराबरको क्षति भएको आइसक्रीम पार्लरका सञ्चालक बुढाथोकीले बताए ।



यता उपमहानगरपालिकाले बिना जानकारी आफुहरुको ब्यापार ब्यवसायमा बल प्रयोग गरेको बिरोधमा आइतवारे क्षेत्रमा रहेका ब्यापारीहरुले मंगलवार बिहानैदेखि उपमहानगरपालिका कार्यालय घेराउ गरी कामकाज ठप्प बनाएका छन्।
उपमहानगरपालिकाले तोडफोड गर्दा भएका क्षतिहरुको पुरै रकम तिर्नुपर्ने, ब्यापारीहरुले शान्तिको वातावरणमा गरिखान पाउन पर्ने लगायतका मागहरु राख्दै उपमहानगरपालिकाको कार्यालय घेराउ र कामकाज ठप्प बनाएका हुन्।
उपमहानगरमा सेवाहरु ठप्प बनेपछि सेवाग्राहीहरु मार्कामा परेका छन् भने समस्याको सामधानका लागि इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाको उपस्थितिमा वार्ता भइरहेको छ।








Comments