२३ फागुन, दमक।
झापाको दमकस्थित दमक पब्लिक लाइब्रेरीलाई विभिन्न ब्यक्तिहरुले दुई सय बढी विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डाक्टर तुलसी भट्टराईको प्रमुख आतिथ्यतामा आज सम्पन्न कार्यक्रममा एमबिबिएस अध्ययनरत दमककी बिभुती अधिकारीको समूहले दुई दर्जन बढी स्वास्थ्य सम्बन्धी पुस्तकहरु दान गरेको हो । त्यस्तै दमक उद्योग बाणिज्य संघ तथा साहित्यकार कृष्ण उदासीले समेत पुस्तकालयलाई विभिन्न पुस्तकहरु प्रदान गरेका छन् ।
त्यस अवसरमा साहित्यकार भट्टराईले दमकमा युवाहरुको पहलमा स्थापित पुस्तकालयले युवाहरुमा पढन संस्कृतिको बिकास गर्ने बताएका थिए । अग्रज पत्रकार गञ्जबहादुर दाहाल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाई लगायतले कार्यक्रममा बोल्दै लाइब्रेरीको विकासका लागि सबै एकजुट हुनुपर्ने उल्लेख गरेका थिए ।
लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा यसअघि यहाँका साहित्यकार तथा स्थानीय अगुवाहरुले समेत पुस्तक प्रदान गरेका थिए । कार्यक्रममा लोकगायक एलपी जोशी, नेपाल रेडक्रस दमक उपशाखाका सभापति लीला गुरागाई, दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । दमक-१३ मा शारीरिक रुपमा अशक्त स्थानीय भेषराज न्यौपानेको सक्रियतामा २०६८ सालमा सो पुस्तकालयको स्थापना भएको हो । हालसम्म पुस्तकालयमा करिव ५ हजार बढी विभिन्न किसिमका पुस्कतकहरु संग्रहीत भइसकेको पुस्तकालयका उपाध्यक्ष जीवन सापकोटाले जानकारी दिए ।
Comments
Post a Comment