झापाका गाविसमा करिव ९ हजार मतदाता थपिए




१६ चैत, दमक।
झापाका तीन दर्जन बढी गाविसमा ८ हजार ७ सय ७६ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका सबै ३७ गाविसमा हालै सम्पन्न भएको फोटोसहितको मतदाता आवेदन गर्ने अवधिमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् । थपिएका मतदाताहरुमा ४ हजार ७ सय ५४ पुरुष र ४ हजार २२ महिला रहेका छन् ।

निर्वाचन कार्यालयले हरेक गाविसमा गाविस सचिव र नगरपालिकामा वडा सचिवलाई सहायक नाम दर्ता अधिकारीको रुपमा जिम्मेवारी दिँदै मतदाता नामावली अद्यावधिक गरेको थियो । सो कार्य हालै सकिएको कार्यालयका प्रमुख गोपाल प्रसाद आचार्यले जानकारी दिए। उनले जिल्लामा पछि थपिएका नयाँ नगरपालिकाहरु शिवसताक्षी, शनिअर्जुन, बिर्तामोड र कन्काईमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य हाल चालु अवस्थामा रहेको बताए।



त्यस्तै पहिले नाम, थर वा अरु कुनै विवरण त्रुटि भएकाको विवरण सच्याउनुका साथै मृत्यु भएका मतदाताको नाम खारेज गर्ने काम पनि अद्यावधिकमा खटिएको निर्वाचन टोलीले गर्ने निर्वाचन कार्यालय प्रमुख आचार्यले जानकारी दिए।
सरकारले २०६७ सालदेखि नै तेस्रो लिङ्गीहरुलाई समेत सरकारी कागजातहरुमा आफ्नो पहिचान खुलाउन चाहेको खण्डमा छुट्टै महल खडा गरेको भए पनि यसपटकको अद्यावधिकको क्रममा एक जनाले पनि तेस्रो लिङ्गीको पहिचान खुलाएर मतदाता विवरण भरेका छैनन् ।
यस अघि २०७० सालको निर्वाचनमा झापाबाट तेस्रो लिङ्गीको पहिचान खुलाएका आधादर्जन जतिले मत खसालेका थिए ।






Comments