ताप्लेजुङका अग्निपिडीतहरुका लागि दमकमा राहत संकलन शुरू





१२ चैत, दमक।
गत सोमबार ताप्लेजुङको तोक्मेडाँडामा भएको भिषण आगलागिमा परी विपतमा परेका पिडितहरूलाई सहयोग गर्ने उद्देश्यले झापाको दमकमा राहत संकलन शुरू गरिएको छ।
विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागीतामा दमक प्राकृतिक प्रकोप राहत कोषले आजदेखि राहत संकलन शुरू गरेको हो।
आज विहान कोषले दमक उद्योग वाणिज्य संघको सभाकक्षमा एक भेलाको आयोजना गरी सहयोग जुटाउन शुरू गरिएको कोषका संयोजक लीला गुरागाईले जानकारी दिए ।
भेलाको पहिलो दिन नै ३६ हजार रुपैयाँ बढी राहत संकलन जुटेको छ ।



संकलित राहत कोषमार्फत यही चैत १६ गते ताप्लेजु्ङ पुगेर सहयोग वितरण गरिने दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईंले जानकारी दिए ।
त्यस अवसरमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मानवीय सहयोगमा दमकका बासिन्दाहरुले उदाहरणीय कार्य गर्ने गरेकोमा जोड दिएका थिए ।
कार्यक्रममा रेडक्रस उपशाखाका सभापति लीला गुरागाई, नेपाल भारत मैत्री संघका सभापति गणेश बहादुर बस्नेत लगायतकाले राहत जुटाउन एकीकृत कार्यक्रम थाल्नु पर्ने बताएका थिए ।
कार्यक्रममा दमक नगरपालिका, इलाका प्रहरी कार्यालय, उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कोषले विपतमा परेका आगलागी पिडीतहरुलाई सक्दो राहत पुर्‍याउन सहयोग गर्न चाहनेहरुले कोषको दमकस्थित कन्काई विकास बैंकको खाता नम्बर ००१-०५७९१०७ मा रकम जम्मा गर्न सकिने जनाएको छ।




Comments