ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु, दिनभर चक्काजाम, पत्रकार पिटिए





१६ चैत, दमक।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा दमकको चियादोकानमा आज विहान मालवाहक ट्रकको ठक्करबाट स्थानीय एक साइकलयात्रीको मृत्यु भएको छ ।
विहान सवा ६ बजेतिर दमक-१५ स्थित चियादोकान चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ख ६२४५ नम्बरको मालवाहक ट्रकको ठक्करबाट दमक- ९ का ५० वर्षिय शैलेश भन्ने रामचन्द्र खनालको घटनास्थलमै मृत्यु भएको हो ।
सोही ट्रकको ठक्करबाट अर्का साइकल यात्री सोही ठाउँका ३० बर्षीय चन्द्र वहादुर डाँगी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।




ठक्कर दिने ट्रक तथा त्यसका चालक पाँचथर फिदिम ८ का ३० बर्षीय मन कुमार रालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
पिडित परिवारलाई क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आज दिनभर मृतकका आफन्त र छिमेकीहरुले शव उठाउन नदिई पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका थिए । लामो समयसम्म राजमार्ग अवरूद्ध भएपछि प्रहरीले बल प्रयोग गरेर बाटो खुलाएको स्थानीय पर्शु रिजालले बताए ।


यसैबीच दुर्घटनाको बिषयमा समाचार संकलनका लागि पुगेका हिमशिखर टेलिभिजनका समाचार सहसंयोजक सुदिप अधिकारीमाथि सशस्त्र प्रहरीले कुटपिट गरेको छ ।
दुर्घटनाको बिषयमा रिपोर्टिङका लागि अधिकारी त्यहाँ पुगेका थिए । ट्रकले पछाडी सारेर नियतवस मारेको आरोप लगाउँदै चालकलाई हदैसम्मको कार्वाहीको माग गर्दै स्थानीय तथा आफन्तजनले राजमार्ग अवरुद्ध गराएका थिए । अबरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेको थियो । लाठिचार्ज भइरहेका बेला स्टुडियोमा लाइभ अपडेट गराइरहेका अधिकारीमाथि एक सशस्त्र प्रहरी जवानले लाठी बर्षाएका हुन् । पत्रकार परिचय पत्र देखाउँदा पनि प्रहरीले अधिकारीमाथि लाठीले हातमा प्रहार गरेको अधिकारीले बताएका छन् । प्रहरीको लाठी प्रहारबाट अधिकारी सामान्य घाइते भएका छन् ।






Comments