भिसा समस्याका कारण अपाङ्ग साइकल यात्री समस्यामा



११ फेब्रुअरी, युएई।
अपाङ्गका लागि सबै कुरा असम्भव भन्ने हुँदैन र सबै अपाङ्गहरु असक्षम हुँदैनन् भन्ने सन्देश बोकी विश्व भ्रमणमा निस्केका नेपालका एकमात्र पोलियो संक्रमित अपाङ्ग साइकलयात्री चित्र पौडेल भिसाको समस्याका कारण युएईमा समस्यामा परेका छन् ।
ओमन, कतार हुँदै युरोप भ्रमण गर्ने उद्देश्य बोकी टिकट सस्तोमा पाइने र स्थलमार्ग हुदै ओमन जाने लक्ष्यका साथ दुई साताअघि यूएई आएका चित्र पौडेल ओमनको भिसा नपाएका कारण अन्योलमा छन् ।
उनको साइकल यात्रामा सहयोग गर्न भनी नेपालदेखि उनीसँगै आएका गुल्मीका बाबुराम थापा पनि सोही समस्याले ग्रसित छन् । नेपाली दूताबास, एनआरएन र यूएईमा क्रियाशील संस्थाहरुले भिसाका लागि पहल गरिरहे पनि अहिलेसम्म समस्या समाधान नहुँदा खर्चको अभावमा आफूहरु तनावमा रहेको उनीहरुले बताए ।




कतारबाट टीबी कार्कीले राम्रो रेस्पोन्स गरिरहेको कारण यात्राको तालिका फरक पर्न सक्ने र त्यसोगर्दा साइकलयात्रा झनै खर्चिलो हुने उनीहरुले बताए । ओमनबाट एनआरएन अध्यक्ष डीबी क्षेत्री र सचिव पूर्णबहादुर श्रेष्ठले सहयोग गर्ने बाचा गरे पनि अहिलेसम्म अन्योल रहेको उनले बताए । अन्योलतामै अबुधाबीस्थित नेपाल प्यालेस रेस्टुरेन्टमा भेटिएका पौडेलले उत्तम अधिकारी, प्रकाश पौडेल, याम बुढा, ओम राई, सन्जिप लामा, केवल दर्नाल, अमर श्रेष्ठलगायतका व्यक्तिहरुको सहयोगमा यूएईमा बसिरेहेको र बाँकी सहयोगका लागि यूएईमा क्रियाशील संघसंस्थाहरुलाई आग्रह गरेका छन् । अहिलेसम्म ५४ वटा देशको साइलकयात्रा गरिसकेका पोलियो रोगबाट संक्रमित पौडेलले नेपाली दूताबासले प्रशासनिक काममा सहयोग गरिरहेको जानकारी दिएका छन् ।
पाँच वर्षमै पोलियोबाट प्रभावित चित्र पौडेलको दाँया खुट्टा सुकेको छ, हिँडाई असहज प्रस्ट देखिन्छ । बाँया खुट्टाको बलले साइकलको पाइडल दबाउँदै २००४ बाट विश्व साइकल यात्रामा निस्केका पौडेल अपाङ्गता असक्षमता होइन, भन्ने सन्देश बोकी यूएई आइपुगेका हुन् ।


अपाङ्गलाई अवसरको खाँचो छ भन्ने आवाजलाई बुलन्द गर्न विश्वको विभिन्न देशको यात्रामा निस्केका पौडेलको स्थायी घर मोरङको बयरबन हो । झापाको लिटिल फ्लावर्स माविबाट एसएलसी सकेर सबैभन्दा पहिला माओवादी सशस्त्र द्वन्द्वकालमा नेपाल घुमेको अनुभव उनीसँग छ । नेपाल अपाङ्ग संघ झापाका अध्यक्ष धनुज श्रेष्ठको प्रेरणा र सहयोगमा विर्तामोडको प्रेम ट्रेडर्सबाट साइकल किनेर नेपाल, भारत लगाउत सार्क राष्ट्रको भ्रमण गरिसकेका पौडेल आफ्नो यात्रालाई अगाडि बढाउन खाडी राष्ट्रको भ्रमणमा रहेको बताउँछन् । अपाङ्गहरुको आत्मबल बढाउन आफूले यात्रा थालेको बताउने पौडेल आफ्नो विश्व साइकल यात्रालाई अगाडि बढाउन यूएईबासी नेपालीहरुलाई आग्रह गरेका छन् । यूएईपछि ओमन र त्यसपछि युरोपको भ्रमण गर्ने सोचमा रहेका पौडेल नेपाल, नेपाली र सम्पूर्ण अपाङ्गहरुको नाम चम्काउन १२० देशको भ्रमण गर्ने अभियानमा छन् । साथै सगरमाथा शिखरको आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने लक्ष्य पनि पौडेलले लिएका छन् ।
विभिन्न उद्देश्य बोकी नेपालबाट विश्व साइकल यात्रामा निस्केका ९० जना जति नेपाली विश्व साइकल यात्रीहरुमा चित्र पौडेलको फरक विशेषता भनेको उनी पोलियो संक्रमित हुन् ।
भिसाको समस्या समाधान गर्नका लागि युएइ, ओमन र कतारका जिम्मेवार संघसंस्था तथा पदाधिकारीहरुसँग नियमित सम्पर्क भइरहेको उनले बताएका छन् । सबैले प्रयत्न गर्दा पनि भिसाको समस्या समाधान नभएकोमा आफूहरु समस्यामा परेको उनीहरुले फेसबुकमार्फत सार्वजनिक गर्दै सहयोगका लागि अपिल गरेका छन् ।





Comments