अवरुद्ध सडक नौ घण्टापछि खुल्यो



२१ माघ, दमक।
झापाको सानो केर्खामा सडक दुर्घटना भएपछि अवरूद्ध बनेको पूर्वपश्चिम राजमार्गको यातायात नौ घण्टापछि अहिले साँझबाट खुलेको छ । पिडित पक्ष, विभिन्न विद्यार्थी संघसंगठनका प्रतिनिधिहरुसहित झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलवहादुर थापाको संयुक्त प्रयासमा भएको छलफल सहमतीमा पुगेपछि अवरुद्ध सडक खुलेको हो । सडक खुलेपछि पूर्वपश्चिम राजमार्गमा यातायात सुचारू भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तोपगाछी-७ का १२ बर्षिय सेलेन बानियाँको मे १ ख. ९१६ नम्बरको यात्रुवाहक बसको ठक्करबाट मृत्यु भएपछि सो क्षेत्र आज दिनभरि अवरुद्ध रहेको थियो । बिहान करिव ११ बजेदेखि सडक अबरुद्ध भई सयौं सवारीसाधनहरु सडकमा नै रोकिँदा यात्रुहरू अलपत्र परेका थिए ।



सडकमा शव नै राखेर प्रदर्शनकारीहरुले बस चालकको लापर्वाहीको विरोध गर्दै राजमार्ग ठप्प पारेका थिए । प्रदर्शनकारीहरुले सडकमा गाडी गुडाएको भन्दै साना ठुला एक दर्जन बढी सवारी साधनहरु तोडफोड गरेका थिए ।
अवरुद्ध खुलाउन स्थानीय प्रशासनले दिनभरी पहल गरेको र मृतक बिद्यार्थीको नाममा पाउने क्षतिपूर्ति र उनको नाममा बिद्यालयमा अक्षयकोष स्थापना गर्ने र घाइते विद्यार्थीको उपचारमा सक्दो पहल गर्ने सहमति भएपछि अवरुद्ध सडक खलेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी उपरिक्षक रविकुमार पौडेलले जानकारी दिए ।
आज विहान साढे १० बजेतिर तिब्र गतिको बसले ठक्कर दिँदा बालकको घटनास्थलमा नै मृत्यु भएको थियो भने उनीसँगै साइकलबाट स्कुल जाँदैगरेकी दिदी मृतकी दिदी सलिना अचेत अवस्थामा उपचाररत छन् ।
प्रहरीका अनुसार मृतक सहिद धर्मभक्त उच्च माबि केर्खामा कक्षा ६ मा अध्ययनरत थिए भने घाइते दिदी कक्षा ८ मा अध्ययनरत हुन् । अचेत अवस्थाकी दिदी सलिनाको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





Comments