दमकलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा



३ फागुन, दमक।
झापाको दमकलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ । आज नगरपालिका र दमक उद्योग बाणिज्य संघले प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्दै जनचेतनामूलक र्‍यालीको समेत आयोजना गरिएको छ।
र्‍यालीको उद्घाटन नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले गरेका थिए। प्लाष्टिक नियन्त्रण अभियानका लागि सचेतना सभामा बोल्दै खरेलले अव बन्ने संविधानले मौलिक हकअन्तर्गत स्वच्छ वातावरण पाउने नागरिकको अधिकारको ग्यारेन्टी गर्नु पर्ने बताए। शहरको वातावरण संरक्षण र पर्यावरणीय क्षति न्युनिकरणका लागि प्लाष्टिकपूर्ण रुपमा निषेध गरिनुपर्ने उनले बताए।
कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगरको बिकास र वातावरण जोगाइ राख्नका लागि प्लाष्टिकको निषेध अनिवार्य भएको बताएका थिए। उनले भने, 'प्लाष्टिक र प्लाष्टिकजन्य सामाग्री प्रयोग गरेको पाइएमा जरिवाना गरिनेछ ।' फागुन १ गतेबाट नै दमकलाई प्लाष्टिक निषेध गरिएको हो ।


सचेतनासभामा बागमती सरसफाई अभियानका अभियान्ता तथा आहाराविज्ञ डाक्टर राजु अधिकारीले प्लाष्टिकले प्रकृतिको शोभालाई बिगार्नुका साथै माटोको उर्वराशक्ति नष्ट गरी मानव स्वास्थ्यमा हानी पुर्‍याउने बताए। प्लाष्टिक प्रयोगका कारण मुटुको रोग क्यान्सर जस्ता खतनाक रोग लाग्ने अधिकारीले बताए। प्लाष्टिकको आयु ४ सय बर्ष रहेको हुँदा प्लाष्टिकका सामाग्री प्रयोगलाई छोड्दै जानुपर्ने उनको भनाई थियो ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईंले प्लाष्टिक झोला नियन्त्रण अभियान सफलताका लागि सवैको सहयोग हुनु पर्ने बताए। उनले भने, 'प्लाष्टिकको हानी र त्यसबाट हुने जोखिमका बिषयमा समेत सचेत हुनुपर्छ ।' संघका पूर्व प्लाष्टिक मुक्त अभियानका कार्यक्रमका मूल संयोजक प्रविण चाम्लिङले मानव समुदायलाई प्रत्यक्ष असर पुर्‍याउँने हुँदा नगरबासी मिलेर नियन्त्रण गर्नुपर्ने बताए। उनले २०६८ मंसीर १ गते संघको अगुवाईमा भएको अभियानको अनुगमन नहुँदा असफल भएको स्वीकार गरे।
नगर बाल सञ्जाल दमककी अध्यक्ष सविता केसीले प्लाष्टिकमुक्त अभियान सफल पार्न सञ्जालले सहकार्य गर्ने बताएकी थिइन्।
नगरपालिका कार्यालय परिसरबाट शुरु भएको र्‍याली दमकका बिभिन्न भाग हुँदै गणतन्त्र चोक परिक्रमा गरी नगरपालिकामा पुगेर सचेतना सभामा परिणत भएको थियो । र्‍यालीमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, टोल बिकास संस्था, महिला स्वयंसेविका, स्थानीय संघ संस्थाहरु, सशस्त्र प्रहरी, जनपथ प्रहरी, पञ्चे बाजा र लाखे नाच आदिको ठूलो सहभागी रहेको थियो ।



Comments