राजगढमा घुम्ती शिविर





१४ फागुन, राजगढ।
ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले १६ गते शनिवार झापाको राजगढ स्थित पशुपति उच्च माविको प्राङ्गणमा घुम्ती शिविरको आयोजना गर्ने भएको छ ।
राजगढसहित गोलधाप, चकचकी र घेराबारी गाविसका सेवाग्राहीलाई मध्यनजर गर्दै शिविरको आयोजना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलवहादुर थापाले जानकारी दिए। थापाका अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवामध्ये वंशज, वैवाहिक, अंगिकृत आधारको मात्र नागरिकता र नाबालक परिचयपत्र वितरण गरिने छ ।



त्यस्तै जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको नामावली दर्ता, जिल्ला खानेपानी कार्यालयबाट खानेपानीको गुणस्तर सम्बन्धी जानकारी, आन्तरिक राजस्व कार्यालयबाट पान नं. वितरण, जिल्ला पशु सेवा कार्यालयबाट पशुलाई कृत्रिम गर्भाधान तथा परीक्षण र कुकुरलाई रेबिजको सुई लगाउने, जिल्ला आयुर्वेदबाट विरामी जाँच तथा औषधी वितरण गरिने छ ।
त्यसैगरी जिल्ला जनस्वास्थ्य र मेची अञ्चल अस्पतालबाट महिलाको आङ्ग खस्ने तथा अन्य सेवा प्रदान गरिनेछ भने जिल्ला महिला विकास कार्यालयबाट अपाङ्ग परिचय पत्र वितरण, कृषि विकास कार्यालयबाट प्रचार प्रसार तथा मिनी सिड वितरण, जिल्ला वन कार्यालयबाट विरुवा वितरण, नेपाल टेलिकमबाट सिमकार्ड वितरण, साल्ट ट्रेडिङ्ग कर्पोरेसन बाट आयोडिनयुक्त नुन वितरण गरिने राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीले जानकारी दिए।
यस्तै जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला सिचाई कार्यालय, जिल्ला मालपोत कार्यालय, जिल्ला विकास समिति लगायतका कार्यालयबाट पनि सेवा प्रदान गरिने सचिव रेग्मीले जानकारी दिए।






Comments