आत्माराम राजवंशी, खजुरगाछी ।
सत्ता, सम्पति र शक्ति प्राप्त गर्नु एउटा सामान्य व्यक्तिको लागि कल्पनाको विषय बन्न सक्छ । यी तीन चीज प्राप्त गर्न जति जीवनमा संघर्षमय यात्रा खर्चिनु पर्ने हुन्छ त्यो भन्दा पनि बढी सादा, सरल र सामान्य जीवन जीउन मानिसलाई गाह्रो पर्न सक्छ । तर त्यस्ता पनि व्यक्ति छन् जसले सादा, सरल र सामान्य जीवनमा पार गर्दै सेवामुखी, उर्जावान, अध्यात्मिक बाटोमा जीवनको पुरा समय खर्चिरहेका छन् ।
बैजेश्वरनाथ शिवालय मन्दिर खजुरगाछी गौरीगंजकी युवा महन्त श्री महन्त १००८ स्वामी हेमानन्द गिरी जो नेपालकै पहिलो युवा महन्त हुन् । उनी जुना अखडा (सन्यासीहरुको संगठन)का राष्ट्रिय अध्यक्ष पनि हुन् । सन्यासकै माहोलमा हुर्के बढेकी महन्त गिरी १२ वर्षकै उमेरदेखि पतन्ञ्जलि योग शिविरमा संलग्न थिइन् । समाजलाई जीवन जिउन, निरासाबाट माथि उठ्न, सकारात्मक हुन, सेवामय जिवन जिउन र उल्झनको जिन्दगीबाट मुक्त हुन सन्यासको जीवन रोजेको उनी बताउँछिन् । उनी भन्छिन्, 'सन्यासी जीवनमा जति आनन्द छ, सुख छ, खुशी छ अरु कुनैमा छैन। '
संस्कृतमा आर्चाय गरेकी गिरी भारतको हरिद्वार, बनारस र अयोध्या आश्रमका पनि महन्त हुन् । साधनाबाट मात्रै महन्त हुन सक्ने र सन्यासीको जीवन जीउन अत्यन्तै कठोर हुने उनको ठम्याई छ । नेपालमा महन्तको संख्या कम भएकोले भारतको मुम्बईमा १० जना युवा महिला महन्त तयार गर्दै गरेको उनले बताइन् । सेवाभावबाट प्रेरित महन्त गिरी खजुरगाछी गौरीगंजस्थित शिवालय मन्दिरमा एकल महिला आश्रमको निर्माणका लागि माघ २२ गतेदेखि महापुराण लगाउँदैछिन् ।
१ बालिकालाई धर्मपुत्रीका रूपमा लिएकी उनी यस मन्दिरलाई पूर्वाञ्चलकै पशुपतिनाथकै रुपमा विकास गर्न चाहन्छिन् । ध्यान केन्द्र स्थापना गर्ने, अर्ग्यानिक खेती गने, आयुर्वेदिक चिकित्सालय तयार गर्ने र एकल महिला सन्यासीहरुको लागि आवास गृह निर्माण गर्ने उनको भावी योजना रहेको उनले बनाइन्।
देख्दा २४ देखि २८ बीचको वसन्त पार गरेकी महन्त गिरी मन्दिरको महन्तको रुपमा आएदेखी मन्दिरको मुहार नै फेरिएको स्थानियवासीहरु बताउँछन् । पथरी -१ मोरङ घर भएकी महन्त गिरी पत्तञ्जली योग समिति नेपालकी महिला अध्यक्ष र पत्तञ्जली योग समिति महिला पुरुषकी राष्ट्रिय उपाध्यक्ष हुन् ।


Comments
Post a Comment