इस्ताको सिंगिङ स्टार बन्ने इच्छा




१७ माघ, उर्लाबारी।
११ वर्षीया इस्ता गुरुङ, यो बेला आफूतिर धेरैको ध्यान खिच्न सफल भएकी छिन् । संस्थागत विद्यालय सहकारी संस्था विराटनगरद्वारा आयोजित 'एसबीएससी सिंगिङ स्टार सिजन टू'को टप २० मा पुगेकीले पूर्वमा उनको चर्चा चुलिएको हो ।
उनलाई सिंगिङ स्टारको उपाधि जित्नु छ । त्यसैले उनले आफूलाई एसएमएस भोट दिएर सहयोग गर्न सबैमा अपील गरेकी छिन् । इस्ता गुरूङलाई सिंगिङ स्टार बनाउन लागि मोबाइलको म्यासेज बक्समा गई SBSC स्पेस १८ टाइप गरी ४५४६ मा पठाउन सकिनेछ ।
उर्लाबारी नगरपालिका -४ शान्ति टोलकी यी छात्राको गायनमा सानैदेखिको लगाव हो । इस्ता स्थानीय सुनगाभा बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । बुवा मदन र आमा निर्मला गुरुङकी कान्छी छोरी इस्ता पढाइमा समेत अब्बल छिन् । कक्षामा सधैं दोस्रो हुन्छिन्, उनी ।




बुवा मदन संगीत शिक्षक भएको प्रभावले पनि इस्तालाई गायनमा अभिरुचि जागेको हो । सदावहार गायिका तारादेवीबाट प्रभावित रहेको बताउने यी फुच्ची गायिकाले भविष्यमा तारादेवी जस्तै कोकिल स्वरकी धनी हुने लक्ष्य लिएकी छिन् ।
कक्षा-२ मा पढ्दा पहिलो पटक स्टेजमा गीत गाएको उनी स्मरण गर्छिन् । उनै गायिका तारादेवीको 'उकाली ओरालीहरुमा...' बोलको कालजयी गीत प्रस्तुत गरेर इस्ताले विद्यालयको कार्यक्रममा सबैलाई मोहित तुल्याएकी थिइन् । उनका बुवा मदन गुरुङ आफू अध्ययनरत स्कुलमा गायन शिक्षकको रुपमा कार्यरत हुँदा आफूलाई थप हौसला बढेको उनको भनाइ छ ।
गायन क्षेत्रमै आफ्नो भविश्यको करियर जमाउने आशा लिएकी यी बालकलाकार बढीभन्दा बढी एसएमएस भोटिङको अपेक्षा गरिरहेकी छिन् । उनले प्रस्तुत गरेको गीतहरु एरिना टेलिभिजनको सिंगिङ स्टार कार्यक्रम मार्फत प्रत्येक शुक्रबार बेलुकी ७ बजे प्रसारण हुने गरेको छ । प्रतियोगितामा विजेताको आगामी फागुन २ गते छिनोफानो हुने बताइएको छ ।

प्रस्तुति - गोविन्द पोख्रेल






Comments