ज्यान मार्ने धम्कीपछि माफी



१४ माघ, दमक।
झापाको दमकबाट प्रकाशित हुने पूर्वसन्देश दैनिकका पत्रकार विष्णु पौडेललाई ज्यान मार्ने धम्की दिने राज ओभरसिज दमकका प्रमुख प्रेम श्रेष्ठले पत्रिकाको कार्यालयमै आएर माफी मागेका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखा, पत्रकार मञ्च दमक तथा दमक उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहवरमा भएको छलफलमा आगामी दिनमा यस प्रकारका गल्ती नगर्ने र पत्रकारको सुरक्षामा संवेदनशील हुने भन्दै लिखित माफी मागेका हुन् ।
तीन बुँदे क्षमायाचना पत्रमा उनले पत्रकार पौडेललाई ज्यान मार्ने धम्की दिएकोप्रति हृदयबाट नै क्षमा चाहेको उल्लेख छ । यस्तै पत्रिकाको कार्यालयमा पुगेर सुव्यवस्था खल्बल्याएको र पत्रकार पौडेललाई रोजगारीबाट निस्कासन गरिदिनु भनेकोप्रति पनि उनले क्षमा मागेका छन् ।




यस्तै आगामी दिनमा पत्रकार पौडेलको व्यक्तिगत सुरक्षाका लागि सक्दो सहयोग गर्ने र उनको असुरक्षा सिर्जना हुने कुनै पनि गतिविधि नगर्ने पनि श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । आफ्नो अभिव्यक्तिबाट समग्र पत्रकारिता जगतमा पुगेको ठेसप्रति पनि उनले दुःख लागेको जनाएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाका सहसचिव गोपाल झापाली, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेल र दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठको रोहवरमा उनले क्षमा याचना गरेका हुन् ।
गत शनिबार पत्रिकामा प्रकाशित समाचारको बिषयलाई लिएर श्रेष्ठले टेलिफोनबाट तथा साँझको समयमा कार्यालयमा नै पुगेर पत्रकार पौडेललाई ज्यान मार्ने धम्की दिएका थिए ।



Comments