कतै बन्द, कतै खुल्ला, एकाबिहानैदेखि बन्दकर्ता सडकमा




अनिल घिसिङ
६ माघ, बेलबारी ।
हिजो दलहरुले रातिसम्ममा सहमति हुन्छ भनेकाले बिहान उठ्दा शुभखबर सुन्न पाइएला भनेर आश गरेका सर्वसाधारणले एकाबिहानै खल्लो र दुर्भाग्यपूर्ण समाचार सुन्नु पर्‍यो ।
संविधानसभामा गएराति अबेर भएको असभ्य र लज्जास्पद बितण्डाको खबरले सर्वसाधारणको नाक, निधार चाउरियो । आफ्नो घरको दैलो उघार्न नपाउँदै बन्दकर्ताका हुल गल्ली र सडकमा बाक्लिएपछि जनजीवन थप कष्टकर बन्यो ।

एकाबिहानैदेखि मोरङको बेलबारी–विराटचोक–लक्ष्मीमार्ग खण्डका पसल र सडक बन्द गराउँदै हिँड्ने बन्दकर्ताका हुलहरुलाई बाक्लो हुस्सु, शीतलहर र कठ्याङ्ग्रिंदो चीसोले रोकेन ।

विहानैदेखि बेलबारीको लालभित्ती, लक्ष्मीमार्ग लगायतका स्थानमा सडकमा ३० दलीय पार्टीहरुका झण्डा र ब्यानर राखेर बन्दकर्ताहरु सडक अवरोधमा उत्रिएका थिए ।



बिहानै बेलबारी नगर क्षेत्रमा बन्द गराउँदै हिँडेका कार्यकर्ता र स्वतःस्फूर्त रुपमा आफ्नो पसल खोलेका ब्यवसायीबिच बिवादसमेत भयो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति र नागरिकको मध्यस्थताले झडपको स्थिति भने टरेको छ ।

बेलबारी नगर क्षेत्रमा पसलहरु आंशिक रुपमा खुलेका थिए भने भने कोशीहरैंचाको विराटचोक–सलकपुर नगर क्षेत्रमा सञ्चालित पसलहरु निर्वाध रुपमा खुलेका थिए।

पूर्वपश्चिम राजमार्गमा काठमाण्डौंबाट पूर्वकालागि हिँडेको रात्री बसलाई छोडेका बन्दकर्ताले ब्याट्रीबाट चल्ने पावर रिक्सालाई भने अवरोध गरेका छन् । चुल्ठेमुन्द्रेले चलाएको दुईपाङ्ग्रे सवारीलाई नरोक्ने तर निम्सरो सर्वसाधारणलाई भने रोकेर दुःख दिएको भन्दै केहि मोटरसाईकल तथा स्कुटर चालकले आक्रोश पोखेका छन् ।










Comments