रिमझिम महोत्सव पुनः सञ्चालन हुने



१६ माघ, उर्लाबारी।
बन्द र हड्तालका कारण बीचैमा स्थगित भएको उर्लाबारी रिमझिम महोत्सव-२०७१ आगामी माघ २१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ ।
सञ्चार क्लब नेपालको भवन निर्माण सहयोगार्थ उर्लाबारी नगरपालिकाले एक महिने रिमझिम महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय मोरङसमक्ष सिफारिस गरेपनि बन्द र हड्तालका कारण बीचैमा स्थगित भएको थियो ।


यसअघि पुस १५ गतेदेखि सुरु भएको महोत्सव बन्द र हड्तालका कारण पुस २६ गते नै स्थगित भएको थियो । त्यसबेला प्रशासनले माघ ८ गतेपछि देशको राजनीतिक परिस्थिति सामान्य बनेको खण्डमा पुनः १५ दिनका लागि स्वीकृती प्रदान गर्ने आश्वासन दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार महोत्सवलाई शान्तिसुरक्षा दिन सकिने लिखित राय सुझाव दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले महोत्सव सञ्चालनका लागि १५ दिने म्याद थप गरेको हो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा दैनिकरुपमा साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिनुका साथै रोटेपिङ, ब्रेक डान्स कार, नाऊ कारलगायत बच्चादेखि बृद्धसम्मका खेलतमासाहरु सञ्चालन गरिनेछ ।
यसअघि महोत्सवमा चर्चित गायिका मिलन अमात्य, लोकगायक तुलसी पराजुली, श्रीकृष्ण लुइँटेल 'बोकेदारी', प्रकाश ओझा, महेश बुढाथोकी, सुजन तिगेला, कुमार लिम्बुलगायतको प्रस्तुति रहेको थियो । महोत्सवमा आगामी दिनमा इन्दिरा जोशी, राजेशपायल राई, धिरज राई, आस्था राउत, प्रमोद खरेललगायतका चर्चित कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।



Comments