म्यानपावरका सञ्चालकले दिए पत्रकारलाई ज्यान मार्ने धम्की



११ माघ, दमक।
झापाको दमकबाट प्रकाशन हुने पूर्वसन्देश दैनिकका पत्रकार विष्णुप्रसाद पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर एक म्यानपावर कम्पनीका सञ्चालकले ज्यान मार्ने सम्मको धम्की दिएका छन् । पत्रकार पौडेलमाथि स्थानीय राज ओभरसिजका सञ्चालक प्रेम श्रेष्ठले समाचार किन लेखिस् ? भन्दै ज्यान लिने धम्की दिएका हुन् । गत शनिबारको अंकमा सो म्यानपावरको गलत प्रवृतिका समाचार प्रकाशन गरेपछि त्यसका सञ्चालक श्रेष्ठले पत्रकार पौडेललाई गल्ती नसच्याए ज्यान मार्ने धम्की दिएको पिडीतले जनाएका छन् ।



घटनाप्रति आज नेपाल पत्रकार महासंघ झापा शाखा, पत्रकार मञ्च दमक, सामाजिक न्यायका लागि सञ्चार समूह लगायतले पत्रकार पौडेललाई ज्यान लिने सम्मको धम्कीको छुट्टाछुट्टै विज्ञप्ती निकालेर निन्दा र भर्त्सना गरेका छन् । महासंघका अध्यक्ष भीम नेम्बाङ्ग र सचिव एकराज गिरीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा प्रकाशित समाचारका कारण कुनै अन्याय भएको या समाचारका विषयमा कुनै असहमति भए लिखित रुपमै आफ्ना धारणा राख्न सक्ने र न्यायका लागि कानूनले तोकेका निकायहरुसम्म जाने बाटो खुल्ला हुँदाहुँदै अमर्यादित र अभद्र तरिकाले पत्रकार पौडेलमाथि ज्यान मार्ने धम्की दिने राज ओभरसिजका प्रेम श्रेष्ठसहित संलग्न सबैलाई पक्राउ गरी कार्वाही गर्न सरकार तथा स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् ।



Comments