प्रेस चौतारीद्वारा नगरप्रमुखलाई पाँच बुँदे ज्ञापनपत्र




४ माघ, बिर्तामोड ।
प्रेस चौतारी झापा बिर्तामोड क्षेत्रीय कमिटीले आज बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
बिर्तामोड क्षेत्रीय कमिटीका अध्यक्ष याम बिमलीको नेतृत्वमा नगरपालिका गएको प्रतिनिधिमण्डलले नगरपालिका र नगरबासीको श्रीबृद्धिका लागि उपयोगी हुने विभिन्न बुँदाहरु सुझाएर कार्यान्वयनका लागि आग्रह गरेको हो ।
प्रेसित ज्ञापनपत्रमा भनिएको छ, 'बिर्तामोड केन्द्रित सञ्चारमाध्यमको उपस्थितिले समग्र जिल्लाकै प्रतिनिधित्व गर्छभन्दा पनि फरक पर्दैन । यसले नवघोषित बिर्तामोड नगरपालिकाको गरिमालाई अझै बढाएको हामीले महसुस गरेका छौं। अतः नगर तथा नगरवासीको श्रीवृद्धिका लागि सूचना तथा सञ्चारमाध्यमको अधिकतम् उपयोग गर्न तपसिल बमोजिमका कार्यहरु बिर्तामोड नगरपालिकाले कार्यान्वयन गरोस् भनी ५ सूत्रीय माग समेटिएको यो ज्ञापनपत्र पेस गरेका छौं।'



नगरभित्र रहेका पत्रकारजन्य सङ्घ सङ्गठनको सिफारिसमा नगरमा स्थायी बसोबास भएकाहरु मध्येबाट पाँच सदस्यीय नगर प्रेस सल्लाहकार समिति गठन गरियोस्, नगरको श्रीवृद्धिका लागि योगदान गर्नेमध्येबाट एक पुरुष/एक महिला पत्रकार र एउटा सञ्चारमाध्यमलाई प्रत्येक वर्ष नगदसहित पुरस्कृत तथा सम्मानित गर्ने व्यवस्था मिलाइयोस् । नगर प्रेस सल्लाहकार समितिमार्फत यसको सिफारिस गर्ने व्यवस्था गरियोस् ।
नगरक्षेत्रमा क्रियाशील सबै राजनीतिक दलहरुसमेतलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा नगरमा कार्यरत पत्रकारहरुको सीप तथा क्षमता अभिवृद्धिका लागि वर्षेनी कम्तीमा दुईवटा तालिम सञ्चालन गर्ने गरी बजेट बिनियोजन गरियोस्, पत्रकारको हकहितमा कार्यरत नगरभित्र रहेका पत्रकारजन्य सङ्घ सङ्गठनलाई निरन्तर सहयोग हुने गरी बजेट बिनियोजन गरियोस् र नगरपालिकाले गरेका सम्पूर्ण कामको छुट्टाछुट्टै खर्च विवरण नगरका सञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, अनलाइन र टेलिभिजन) मार्फत र्सार्वजनिक गरियोस् साथै नगरपालिकाबाट उत्पादित सूचना सामग्रीहरु नगरका सञ्चारमाध्यममा समानुपातिकरुपमा वितरण गरियोस् भन्ने माग गरिएको छ ।
क्षेत्रीय कमिटीका अध्यक्ष याम बिमलीको हस्ताक्षरमा ज्ञापनपत्र बुझाइएको हो ।
कार्यकारी अधिकृतलाई प्रेसित ज्ञापनपत्रमा उल्लेख गरिएका विषयलाई अग्रज पत्रकार लिला बराल र कृष्णप्रसाद मिश्रले थप प्रष्ट्याएका थिए । ज्ञापनपत्र बुझेपछि अधिकृत वस्तीले नगरक्षेत्रमै रहेका कारण नेपाल पत्रकार महासंघसँगको सहकार्यमा केही कार्यक्रमहरु सम्पन्न गरेको बताउँदै अबका दिनमा नगरस्तरीय संघ-संस्थासँग नै सहकार्य गरी अघि बढ्ने विश्वास दिलाए । ज्ञापनपत्रमा उल्लेखित विषयहरु नगरपालिका अगाडि बढाउन पनि सहयोग पुग्ने रहेकाले कार्यान्वयनका लागि आफू दृढ रहेको आश्वासन दिए ।






Comments