डिकेश लामा,
२५ पौष, दमक।
स्थापनाको २५ बर्ष पूरा गरेको अवसरमा दमक वडा नं. १० मा रहेको मेची वोर्डिङ्ग स्कूलले विविध कार्यक्रमसहित शुक्रबार रजत जयन्ती बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले गत १९ गतेदेखि आयोजना गरेको ७ दिने विविध कार्यक्रमको शुक्रबार समापन गरिएको हो ।
कार्यक्रममा अन्तरसदन हाजिरीजवाफ, म्यूजिकल चेयर, हण्डिफोर, साँस्कृतिकलगायत विविध खेलकुद र पढाईमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थी तथा खेलमा सहभागी अभिभावकलाई पुस्कार वितरण गरिएको थियो ।
विद्यालयको स्तर र प्राविधिक शिक्षातर्फ उन्मुख गर्न कसरी अझै राम्ररी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विद्यालयका संचालक समिति लगायत शैशिक अगुवाहरुले जोड दिएका छन् । विद्यालयमा क्याम्पस तह र प्राविधिक कक्षाहरु अध्यापन गराउनेतर्फ विद्यालय अग्रसर रहेको विद्यालयका प्रिन्सिपल श्रवणकुमार पोख्रेलले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि प्याव्सनका पूर्वाञ्चल क्षेत्रीय सचिव नारायण घिमिरे, झापा जिल्ला अध्यक्ष मिलन ढुङ्गाना, समाजसेवी पूर्णानन्द शर्मा, पूर्व विद्यार्थी उमेश दंगाल, संचालक समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति शेरबहादुर भट्टराई लगायतले विद्यालय शैक्षिक गुणस्तरका विषयमा वोलेका थिए।
वि.सं. २०४६ सालमा थोरै विद्यार्थीबाट संचालन गरिएको विद्यालयमा आज आएर धेरै विद्यार्थीहरुले शैक्षिक प्रगति गरेकोतर्फ विद्यालयका संस्थापकहरुले खुशी व्यक्त समेत गरेका छन् । कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउने व्यक्ति, संस्था लगायतलाई मायाको चिनोसमेत प्रदान गरिएको कार्यक्रमका संचालक शिक्षक होम खतिवडाले जानकारी दिए ।
विविध साँस्कृतिक प्रदर्शनीसमेत भएको कार्यक्रममा नगरका राजनैतिक, व्यवसायिक, शैक्षिक, सांगठनिक अगुवा र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Comments
Post a Comment