तल्लो जातको भनेर हेपेको भन्दै ढुङ्गाले हानेर ससुराको हत्या



११ माघ, दमक।
दुई दिनअघि झापाको गौरादहमा भएको हत्याको घटनामा ज्वाईंको संलग्नता रहेको खुल्न आएको छ । पूरानो रिसीइवीका कारण ससुरालाई ढुङ्गाले हानेर मारेको घटनाका आरोपी ज्वाईं लखनपुर-७ का २१ बर्षिय बिमल ऋषिदेवले स्वीकार गरेका छन् ।
इलाका प्रहरी कार्यालय दमकले अनुसन्धानपछि सो घटनाका बारे आज त्यस्तो रहस्य सार्वजनिक गरेको हो । आरोपी ऋषिदेवले नातामा ससुरा पर्ने झापाको लखनपुर-१ का ४० बर्षिय बिर्जा सहनीको माछा मार्न जादा गौरादह-७ को किस्ने खोलामा गत शुक्रवार दिउँसो हत्या गरेका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले जानकारी दिए । प्रनि सिलवालका अनुसार हत्या गरिनु एक दिनअघि नै जुरोपानीको एक पुलको काममा लेवर गर्न दुवै सँगै गएका थिए ।



ढुङ्गा प्रहारपछि सख्त घाइते भएका सहनीको दमक हस्पिटलमा उपचारका क्रममा सोही दिन ज्यान गएको थियो ।
शुक्रवार स्थानीय एक पसलमा दुवैले अत्याधिक मदिरा खाएर माछा मार्न नजिकै जाँदा ऋषिदेवले पूरानो रिसइवी साँधेर हत्या गरेको प्रहरीको वयानमा स्वीकार गरेका प्रनि सिलवालले जानकारी दिए ।
घटना विवरण अनुसार ऋषिदेवले सहनीकी कान्छी छोरी अनितालाई ६ बर्षअघि विहे गरे पनि ज्वाई तल्लो जातको भनेर हेला गरेको र एक बर्षदेखि छोरीलाई माइतमा राख्दै आएका थिए ।
'घटनामा ज्वाई तल्लो जात भएर ससुराले पटक पटक आफू र परिवारलाई अनावश्यक आक्रमण गरेपछि त्यो रिसइवीका कारण ऋषिदेवले हत्या गरेको खुल्न आएको छ', इप्रका दमकका प्रहरी उपरिक्षक रविकुमार पौडेलले बताए।
प्रहरीले आरोपीलाई आज नै म्याद थप गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको प्रहरी उपरिक्षक पौडेलले जानकारी दिए।

तस्वीर - दुई दिनअघि झापाको गौरादहमा आफ्नै ससुराको हत्याको घटनाका आरोपी विमल ऋषिदेव । (विष्णु सुब्बा)



Comments