सनिमाविमा मन्दिर र संग्राहलय उद्घाटन




डिकेश लामा,
११ माघ, बेलडाँगी।
झापाको दमक ३ स्थित सरस्वती निमाविमा स्वर्ण जयन्ती तथा श्रीपञ्चमीको अवसरमा सरस्वतीको मन्दिर र बाल संग्राहलय आज एकसाथ उद्घाटन भएको छ । जिल्ला शिक्षा अधिकारी झापाका प्रमुख डिल्लीराम लुइंटेलले मन्दिर र संग्राहलयको उद्घाटन गरेका हुन् ।
विद्यालय स्थापना भएको ५० बर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाउँदै गरिएको उद्घाटनमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका लुँइटेलले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई अभिभावकले समेत हेला र उचित रेखदेख गर्न नसकेकाले विद्यार्थीको पढाईमा प्रगति हुन नसकेको बताए । उनका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुनुका साथै शैक्षिक अवस्थामा समेत सुधार आउन थालेको छ ।



सरस्वती मन्दिर निर्माण समितिका संयोजक पूर्व विद्यालय अध्यक्ष नरहरि दाहालको सभापतित्वमा भएको कार्याक्रममा विद्यालयलाई जग्गा प्रदान गर्ने स्व. ज्योतिष हरिप्रसाद अधिकारीका श्रीमतिद्वय लक्ष्मीमाया र पदमकुमारी अधिकारीलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुन्यप्रसाद अधिकारीले बताए । अधिकारीले विद्यालयलाई स्थापना कालमै ८ कठ्ठा जमिन उपलव्ध गराएका थिए ।
त्यसैगरी ८ लाख रूपैयाँजति खर्चमा निर्माण गरिएको सरस्वतीको मन्दिर निर्माणमा विशेष सहयोग पुर्‍याउने दमक नगरपालिका सहित १ दर्जन बढीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा उद्घाटन गरिएको संग्रालयलाई शिक्षा क्षेत्रका अगुवा, अभिभावक अन्य विद्यालयका प्रधानाध्यपक, सामाजिक तथा राजनैतिक अगुवाहरुले समेत अवलोकन गरेका छन् । संग्राहलयमा टोलङ्ग, साराङ्गी, दुँदेरो, जाँतो, ढिकी, प्वाँलोका माला, चौठो, गरिया, तरबार कत्ती लगायत नेपाली समाजबाट लोप हुन थालेका पुराना सामानहरु राखिएको विद्यालय व्यवस्थापन समिति सदस्य बुद्धि सिग्देलले बताए ।


कार्यक्रममा मन्दिर निर्माण र संग्राहलय व्यवस्थापनमा लागेका खर्च विवरण विद्यालयका प्रध्यानाध्यापक छविलाल दाहालले प्रतिवेदनको रुपमा प्रस्तुत गरेका थिए ।
स्वर्ण जयन्ती र श्रीपञ्चमीको अवसरमा माघ ७ गतेदेखि शुरु गरिएको कार्यक्रममा कलश यात्रा, हाजिरी जवाफ, स्वास्थ्य शिविर, पूजापाठ, नृत्य, गीतसमेत प्रस्तुत गरिएको थियो । विद्यालय श्रीपञ्चमी कै दिन वि.सं. २०२२ सालमा स्थापना भएको संस्थापक प्रअ देवी दंगालले बताए ।
यसैबीच इलामको चुलाचुली गाविस वडा नं. ८ मा रहेको भानु माविमा ४ सय हाहाहारीका विद्यार्थीहरुले एकसाथ सरस्वतिको पूजाआजा गरेका छन् । समूहमा लाइन लागेर पण्डित र प्रअ रघुनाथ मिश्रको मन्त्रोच्चारण दोहोर्याउँदै एकसाथ पूजाआजा गरेका हुन् । पूजाआजापछि समूहमा लाइन लागेर एकसाथ प्रसादी समेत ग्रहण गरेको र हर्षोल्लासका साथ पूजा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग पौडेलले बताए ।



Comments