मौलिक कार्यविधिकासाथ कक्फेक्वा तङ्नाम मनाइयो

सन्देश सुब्बा इङ्वा
२ माघ, पाँचथर ।
किरात समुदायले मनाउने कक्फेक्वा तङ्नाम अर्थात् माघे सक्रान्ति पर्व धुमधामसँग मनाइएको छ । तङ्नाम (पर्व) कार्यविधि निर्माण समिति पाँचथरको अगुवाईमा यस वर्ष जिल्लामा दुई दिन विशेष महत्वकासाथ कक्फेक्वा तङनाम मनाइएको हो ।जसअन्तर्गत पहिलो दिन पौष ३० गते कुलाङदाक्मा अर्थात् पर्वको स्वागतस्वरुप वन तरुल, घर तरुल, सिलाम, याङ्बेन (झ्याउ), खरेङ (फापरबाट बनेको रोटी) जस्ता फलफूल संकलन गरी परिकार बनाइएको थियो भने साँझ घर-घरमा दिपावली गरी किरात येले तङ्बे (नयाँ वर्ष ५०७४ लाई स्वागत गरिएको थियो ।



त्यस्तै दोस्रो अर्थात् पर्वको मुख्य दिन भने तेह्रथुम र पाँचथरर जिल्लाको सिमाना तमोर नदीमा गई सामुइ नाक्मा (असल सन्तान प्राप्ती साथै आफ्ना सन्तानको दीर्घायुका लागि गरिने पूजा), चुवात्माङ (जल पूजा), साङ्ग्रालुङ्ही वादेम्मा (जान अञ्जानमा हुन गएका गल्ती, अपशब्द र कुकर्महरु बगेर जाओस् भनेर खोला अथवा नदीछेउमा गएर गरिने पूजा) जस्ता संस्कार गरी मनाइएको तङ्नाम (पर्व) कार्यविधि निर्माण समिति पाँचथरका संयोजक हरिश्चन्द्र लाओतीले बताए ।
त्यस्तै सोहि दिन तमोर नदी किनारमै जिल्लास्थित विभिन्न राजनीतिक दल, प्रशासनीक निकाय र संघ-संस्थाका प्रमुखहरुको उपस्थितिमा तुम्येन ताम्भुङ्चा (मौलिक परम्परामा आधारित सामूहिक भोज) समेत गरिएको संयोजक लाओतीले जानकारी दिए । जिल्लामै पहिलोपल्ट ऐतिहासिक रुपमा मौलिक कार्यविधि गरी कक्फेक्वा तङ्नाम मनाइएको दावी गर्दै लाओतीले यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताए ।

यता यसै वर्षदेखि समितिले महत्वपूर्ण किरात चाडहरुलाई समेटी देवनागरीसँगै किरात सिरिजंगा लिपीमा पात्रो तथा भित्ते पात्रोसमेत प्रकाशनमा ल्याउँदैछ । यसअघि सल्लाह सुझावको लागि फिदिममा पत्रकार सम्मेलन गरी पात्रोको नमुना सार्वजनिक गरेको समितिले त्यसलाई फागुनमा बजारमा ल्याइने बताएको छ । 'नेपाली तिथिमितिलाई पनि समेटेर ल्याइने भएकोले फागुनमा मात्र बजारमा ल्याइने भएको हो', समितिका संयोजक लाओतीले भने, …Gregorian Calendar System मा आधारित यो नै किरात सिरिजंगा लिपिको पहिलो पात्रो हुनेछ ।'
माघ एक गतेदेखि याक्थुङ येले सम्बत ५०७१ शुरु हुने भएकोले यस दिनलाई किरात समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने गर्दछन् । माघ एक गतेलाई सरकारले २०६४ सालमा राष्ट्रिय पर्व घोषणा गरी त्यसयता सार्वजनिक बिदा दिँदैआएको छ ।

(फोटो - बिहीबार पाँचथर र तेह्रथुमको सिमाना पाँचथरको माझीटारस्थित तमोर नदी किनारमा तुम्येन ताम्भुङचामा सहभागीहरु)

Comments