भू-क्षयले सम्पदा संरक्षणमा चुनौती

९ माघ, दमक।
झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सतासीधाम क्षेत्रमा बढ्दो भू-क्षयका कारण त्यहाँको सम्पदा संरक्षणमा चुनौती बढेको छ । धामक्षेत्रमा पछिल्लो समय बढ्दो वन फँडानी, संरक्षणको अभावका कारण भूक्षय बढेको बताइएको छ ।
दिनदिनै माटो भत्किँदै खोलामा मिसिने गरेको र आवतजावतका लागि भन्दै जथाभावी बाटो खन्नाले पनि भूक्षयको जोखिम बढिरहेको हो । धाम विकास समितिले धाम परिसर क्षेत्रमा विभिन्न भौतिक पूर्वाधारको समेत कमी रहेको जनाएको छ । धाम क्षेत्रमा पुग्ने तिर्थालु भक्तजनहरुका लागि बनाइएका शौचालयको व्यवस्थापन र खानेपानीका लागि उचित प्रवन्ध हुन नसकेको पनि जनाइएको छ । सो क्षेत्रमा रहेका शौचालय जीर्ण बनेका छन् भने सरसफाईको अभावमा दुर्गन्धित बन्दै गएको छ ।

-->
धाममा धारा नहुँदा पिउने पानीको समस्या भएको धाम परिसरमा भेटिएका शिव अधिकारीले बताए। उनले आफु बर्षेनी विभिन्न अवसरमा सो धाममा आउने गरेको र दिनप्रतिदिन धाम क्षेत्र संरक्षणको कमीका कारण संकटमा परेको बताए । सो धार्मिक क्षेत्रमा डेढ दर्जन साधु सन्त नियमित बसोबास गर्ने गरेका र दैनिक ५ सय लिटर पानी आवश्यक भए पनि बन्दोबस्त हुन नसकेको हो ।
सो स्थानमा पुग्ने कतिपय युवायुवतीहरुले खुलेआम अश्लिल गतिबिधी गर्ने गरेका कारण पवित्र उदेश्य राखेर धाममा पुगेका कतिपय नातेदार आफन्तहरुका बिचमा असहज स्थिति पैदा हुने गरेको पनि सर्वसाधारणले बताएका छन् । त्यहाँ निर्माणाधिन सताक्षी देवीको मन्दिरले पूर्णता पाउन सकेको छैन ।
भइरहेका संरचनाको संरक्षण नहुँदा आकर्षण घट्ने खतरा रहेकोले यसको विकासमा ध्यान दिन आवश्यक भएको स्थानीय सामाजिक गतिबिधीमा क्रियाशील झापाली युवा सरोकार समाजका उपाध्यक्ष सुरज रिङगालुङ बताउँछन् । -->

सतासीधाम धार्मिक तथा पर्यटकिय स्थल ब्यबस्थापन समितिले भने सो स्थानलाई थप ब्यवस्थित पार्ने कार्य भइरहेको जनाएको छ । समितिका सचिव उदयप्रकाश राईले धाम क्षेत्रमा निर्माणाधिन सताक्षीदेवीको मन्दिरलाई यसै बर्ष पूर्णता दिएर अनावरण गर्ने योजना रहेको बताए । सो क्षेत्रलाई पूर्वकै धार्मिक तथा पर्यटकीय गन्तब्य स्थल बनाउन सरकारी र अन्य निकायसँग समेत समन्वयको प्रयास भइरहेको सचिव राईले बताए ।


-->

Comments