एमाओवादीलाई संविधानसभा घाँडो भयो - इश्वर पोखरेल



१७ माघ, सुनसरी।
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एमाओवादीलाई संविधानसभा घाँडो भएको बताएका छन् ।
सुनसरीको धरानमा प्रेस चौतारी नेपालले आयोजना गरेका गोपाल कार्की सिर्जनशील पत्रकारिता पुरस्कार वितरण गर्दै महासचिव पोखरेलले एमाओवादीको छाप लागेको संविधान जारी गर्ने सपना पूरा नभएपछि उसलाई संविधानसभा घाँडो भएको बताए। उनले भने, 'एमाओवादीलाई अहिले संविधानसभा बोक्नु न टोक्नु जस्तो भएको छ । त्यसैले अहिले अरु दलसँग मिलेर एमाओवादी संविधानसभा भाँड्न लागि परेको छ ।'


महासचिव पोखरेलले प्रकृयामा गएर भएपनि यहि संविधानसभाबाटै संविधान जारी गरेर छाड्ने बताए। उनले संविधान निर्माणका लागि एमालेले हदैसम्मको लचकता अपनाउने बताए । उनले भने, 'एमाले संविधान निर्माणका लागि आफ्ना सबै अडान छोड्न तयार छ तर विभेदको पक्षपोषण मान्दैन, समाजिक सदभावलाई कमजोर बनाउन मान्दैन, सामाजिक एकता खल्वलिने निर्णय गर्न मान्दैन ।'
कार्यक्रममा महासचिव पोखरेलले सुनसरीमा क्रियाशील पत्रकार हिमाल दहाल र भोजराज श्रेष्ठलाई नगद ७/७ हजार रूपैयाँसहितको गोपाल कार्की सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेका थिए।


Comments