आत्माराम राजवंशी,
३० पौष, खजुरगाछी।
धानको भाउ बढेपछि जिल्लाका किसानहरु हर्षित बनेका छन् ।
खाद्यान्न उत्पादन हुने देशकै मुख्य क्षेत्र मानिएको झापामा अघिल्लो बर्षको तुलनामा धानको मूल्य प्रति मनको २ सय रुपैयाँ बढेपछि किसानहरु हर्षित बनेका हुन् ।
अघिल्लो बर्षको पुस महिनामा मन्सुली धानको मुल्य प्रति मन ६ सय ४० रुपैयाँ थियो । तर, यो वर्ष पुसमा मन्सुली धानको मुल्य प्रति मन ८ सय १५ देखि ९ सय ४० सम्म छ । धानको भाउ बढे पनि किसानहरु आफूले उब्जाएको धान बेच्न बाध्य भएका छन् । उनीहरु घर खर्च र साहुको ऋण चुक्ता गर्न धान बेच्न बाध्य भएका छन् ।
खजुरगाछी-६ का किसान प्रकाशचन्द्र राजवंशी भन्छन्, 'धान दाहिनी गरियो, घर खर्च टार्न र साहुको ऋण चुक्ता गर्न धान बेचेको हुँ ।' १ विघामा धान खेती गरेका उनी ६० मन धान उब्जाएको बताए । उब्जाएको मध्ये २० मन धान ८ सय ५० रूपैयाँको भाउमा बेचेको उनले बताए । 'अघिल्लो वर्षको यहि महिनामा ६ सयदेखि ६ सय ५० रुपैयाँ थियो', उनले थपे, 'यो बर्ष मुल्य बढेपनि परिवारको खर्च धन्न धान बेच्नै पर्यो ।'
धान नबेचे साहुको ऋणको ब्याज बढ्दै जाने र बेच्यो भने वर्षभरिको परिवारलाई खान नपुग्ने भएकोले आफू दोधारमा परेको खजुरगाछी-६ का अर्का किसान जयवल्लव कर्ण बताउँछन् । उनी भन्छन्, 'दाहिनी गरेको सबै धान भकारीमा जम्मा गरी राखेको छु । भाउ बढेका बेला बेच्नेछु ।' दाहिनी गरी सबै किसानले १ महिनासम्म धान नबेचे धानको भाउ स्वतः बढ्ने उनको धारणा छ । उनले भने, 'माघमा धानको भाउ बढ्छ होला । त्यसैले बेचेको छुइनँ।'
जिल्ला कृषि कार्यालय झापाका अनुसार जिल्लामा ९८ हजार ७ सय १६ हेक्टर खेतीयोग्य जमीन छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले खेतीयोग्य जमिनको सिंचित क्षेत्रमा धान उत्पादन अघिल्लो वर्षको तुलनामा राम्रो भएको बताए । समयमा पानी नपरेको र रासायनिक मल किसानले नपाएको कारण अघिल्लो वर्षभन्दा ५ प्रतिशत कम रोपाई भएको उनले वताए । उनले किसानलाई धान वालीमा लागतभन्दा कम उत्पादन भए वा धानवालीमा नोक्सान भए वैकल्पिक वाली लगाउन आग्रहसमेत गरे ।
कार्यालयका अनुसार झापामा कुल १ लाख ५९ हजार ९ सय २ हेक्टर जमीन छ ।

Comments
Post a Comment