४५ औं वार्षिकोत्सवमा सात थान कम्प्युटर प्रदान




१७ माघ, दमक।
झापाको शिवसताक्षी - ७ दूधे स्थित राष्ट्रिय रमणीय आदर्श उच्च माध्यमिक विद्यालयले आफ्नो ४५ औं वार्षिकोत्सव विविध कार्यक्रमका गरी मनाएको छ ।
पूर्व सांसद तारासम योङ्याको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी विद्यालयले शनिवार बार्षिकोत्सव मनाएको हो । विगत केही वर्षहरुमा विद्यालयले वार्षिकोत्सवमा कार्यक्रम नगरेता पनि यस वर्षदेखि आफ्नो वार्षिकोत्सवलाई निरन्तरता दिन थालिएको विद्यालयका प्राचार्य उमानाथ दाहालले बताए ।
सो अवसरमा विद्यालयलाई जग्गादान गरेका दाता तीलबहादुर कडरिया र धनकुमार राईलाई विद्यालयले मरणोपरात्न सम्मान पत्रद्वारा सम्मानित गरेको छ । धनकुमार राईका ज्येष्ठ सुपुत्र मिलनकुमार राई र तीलबहादुर कडरियाका ज्येष्ठ सुपुत्र लगनबहादुर कडरियाले उक्त सम्मान पत्र ग्रहण गरेका थिए ।


त्यस्तै पूर्व विद्यार्थीसमेत रहेका सामाजिक अगुवा एल.पि. साँवा लिम्बु, मेदनी दंगाल, सहदेव चौहान, रमेश तुम्बापो र चन्द्र गौलीले विद्यालयलाई निःशुल्क ७ सेट कम्प्युटर प्रदान गरेका थिए ।

यसैगरी विद्यालयले विभिन्न विधाका शिक्षकहरुलाई पनि सोही कार्यक्रमको अवसर पारेर प्रशंसा पत्र प्रदान गरेको छ । प्रशंसीत हुनेहरुमा शिक्षिका रञ्जना सुब्बा, शिक्षक श्रीप्रसाद खरेल, मदन चोङ्गवाङ्ग र गोविन्द काफ्ले रहेका छन् ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी एलपि सावाँ लिम्बुले सामुदायिक विद्यालयले पनि निजी विद्यालयहरुसँग प्रतिष्पर्धा गरी अघि बढ्नु पर्ने धारणा राखेका थिए । त्यस्तै, स्थानीय डामकुमार कुँवर, शिवकुमार योङ्या, पूर्व विद्यार्थीका तर्फबाट तारापति पाठक लगायतले मन्तव्य राखेका थिए । अधिकांश वक्ताहरुले सामुदायिक विद्यालयले आयोजना गरेको कार्यक्रममा शिक्षा कार्यालयको कोही पनि प्रतिनिधि नआएको प्रति रोष व्यक्त गरेका थिए । विद्यालयले कार्यक्रमका प्रमुख अतिथिका रूपमा जिल्ला शिक्षा अधिकारीलाई निमन्त्रणा गरेपनि कार्यक्रममा नआएपछि सहभागीहरुले गुनासो पोखेका थिए ।

तस्वीर - विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गर्दै पूव विद्यार्थी सावाँ ।




Comments