गायनसँगै मोडलिङमा मिलन



खासमा मिलन श्रेष्ठ '३०' को सपना लाहुरे बन्ने थियो । बुबा भारतीय सेना भएकोले पनि उनले लाहुरे सपना देखेका थिए । ६० सालतिर लाहुरेकै लागि खुबै मेहनत गरे । अनेकन गर्दापनि लाहुरमा भर्ना नभएपछि मन कुँढियो अनि गीत गुन्गुनाउन थाले ।

'गाउँबस्तीको साङ्गीतिक कार्यक्रमहरुमा गीत गाउँदा साथीभाई र शुभचिन्तकहरुको हौसलाले गायन क्षेत्रमा लागेको हुँ', गायन क्षेत्रमा आफ्नो प्रवेशबारे उनले भने, 'मैले गर्नु धेरै छ, गरेरै छाड्छु ।'
पछिल्लो समय प्रविधिको विकासले गीति एल्बमको विक्री शून्य छ । श्रोताले एल्बम किनेर सुन्ने एकादेशको कथा जस्तै भएको छ । साङ्गीतिक दुनियाँमा नयाँ प्रवेशी मिलनको घमण्ड छ, भन्छन्, 'मेरो पुरै जीवन गायन क्षेत्रमै बिताउनेछु ।'




गायन कला कै लागि उनले औपचारिक शिक्षासमेत लिएका छन् । उनले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित पूर्वाञ्चल सङ्गीतालयमा अवोध पन्दाक लिम्बूबाट चारबर्षको भोकल, तबला र गीतारको कक्षा लिएका छन् । त्यस्तै राजधानीस्थित गुरु संगीत पाठशालामा गुरुदेव कामतबाट गायनमा एक बर्ष अध्ययन गरेका छन् ।

भोजपुरको याकूमा जन्मेर मोरङको अमरदह ५ केचनामा बाल्यकाल विताएका मिलनले गीति एल्बम ल्याउने सुरसार कसेका छन् । श्रीमती गीता गुरुङले समेत साथ दिएको ६ वटा गीत समावेश 'मिलन-गीता' नामक एल्बमको अन्तिम तयारीमा रहेको सुनाए ।


त्यसो त मिलन गायनसँगसँगै मोडलिङमा समेत जम्दै छन् । लोभलाग्दो हाइट र क्लियर फेसले उनलाई मोडलिङको दुनियाँमा फिट मात्रै होइन सम्भावना देखाएको छ । गायन क्षमताबाट चिनिन नपाउँदै उनीले एक बर्षअघि विकेश साउदेन लिम्बूको जिजिविषा एल्बममा गायक शिव परियारको स्वर रहेको 'भलै तिमीबाट गिरेको मान्छे म...'गीतको म्यूजिक भिडियो मार्फत मोडलिङमा डेब्यू गरेका थिए । बजारमा आउन लागेको मिलन-गीता एल्बमको 'सरर बसैको झ्यालैमा..' बोलको गीतमा उनी आफैंले मोडलिङ गरेका छन् । बाँकी गीतमध्ये 'तिमीविना जिउन गारो भो' वोलको गीत पूर्वको विभिन्न ठाउँहरुमा सुटिङ गरेर सम्पादन कार्य भइरहेको उनले बताए ।
'पहिलो म्यूजिक भिडियोमा मलाई देखेपछि सबैले मन पराई दिनुभयो । सम्भावना छ, भनेर सबैले हौसला दिनुभएपछि यतातिर मन गएको हो', पर्दामा देखिन थालेपछि निकै हौसिएका श्रेष्ठले भने, 'तर मेरो साँच्चै रुचीको विषय भने गायन क्षेत्र नै हो । अभिनय त सौख मात्र हो ।'

प्रस्तुती - सौखिन बान्तवा




Comments