१७ औं भूकम्प सुरक्षा दिवस मनाइयो



२ माघ, विर्तामोड।
'नसोचेको बेला आउँछ है भूइँचालो, पूर्व तयारीमा जुट्ने हामी सबैको पालो' भन्ने मूल नाराका साथ शुक्रबार झापासहित देशभर १७ औं भूकम्प सुरक्षा दिवस मनाइयो ।
विर्तामोडमा विभिन्न ७ वटा संस्था मुख्य आयोजक र अन्य दुइ दर्जन संस्थाको सहआयोजनामा र्‍यालीसहित विविध कार्यक्रम सम्पन्न भयो ।
विर्तामोड नगरपालिका, नेपाल पत्रकार महासंघ झापा, झापा उद्योग वाणिज्य संघ विर्तामोड, नेपाल रेडक्रस सोसाइटी विर्तामोड, मारवाडी युवा मञ्च विर्तामोड, सशस्त्र प्रहरी बल बराह बाहिनी पकली र एनसेटको मुख्य आयोजनामा विर्तामोडमा चेतना मूलक प्लेकार्ड र व्यानरसहित र्‍याली निकालिएको थियो । अतिथि सदनबाट शुरु भएको र्‍याली विर्तामोड नगर परिक्रमासँगै अग्रसेन भवनमा पुगेर सभामा परिणत भएको थियो ।



सभामा सहभागीले भूकम्पीय सुरक्षाका लागि चार बुँदे प्रतिवद्धता व्यक्त गरेको नेपाल पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । सहभागीले भूकम्पीय जोखिमबाट सुरक्षित हुने उपायहरु सिक्ने र परिवारका सबै सदस्यलाई सिकाउने, आफूले बनाउने घर भूकम्प प्रतिरोधी बनाउने, अहिले भइरहेको घरलाई भूकम्पीय प्रवलीकरण गर्ने र आफ्नो समुदायमा भूकम्प प्रतिरोधसम्बन्धी जनचेतना अभिवृद्धिमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीको अध्यक्षतामा भएको कार्यक्रमा एनसेटका अमित तिम्सिना र रेडक्रस झापाका प्रकाश कार्कीले भूकम्पीय जोखिम र बच्ने उपायसम्बन्धी चेतनामूलक प्रस्तुति तथा डेमो प्रदर्शन गरेका थिए ।
सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक निराकरमविक्रम शाहले प्रमुख अतिथिको तर्फबाट पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमल थापा, नेपाल पत्रकार महासंघ झापाका कार्यवाहका अध्यक्ष तारामणि सापकोटा, झापा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष बलराम कार्की, रेडक्रस सोसाइटी विर्तामोडका कार्यवाहक सभापति निर्मल भट्टराई, मारवाडी युवा मञ्च विर्तामोडका अध्यक्ष रोनक वंशलले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले गरेका थिए ।


कार्यक्रममा बीरता जेसीज, बीरता लेडिज जेसीज, रोटरी क्लब अफ विर्तामोड, रोटरी क्लब अफ विर्तामोड मिड टाउन, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र, अलैँची व्यवसाय महासंघ, अग्रसेन भवन, छठ समाज सेवा समिति, लायन्स क्लब अफ विर्तामोड, रिभर साइड युथ फाउण्डेशन, विर्तामोड नगर विकास समिति, मारवाडी सेवा समिति, मारवाडी कन्या मञ्च, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, विर्ता सामुदायिक प्रहरी सेवा केन्द्र, ब्रोडकास्टिङ एसोशिएसन अफ नेपाल (बान), सशस्त्र प्रहरी बल शनिश्चरे, इलाका प्रहरी कार्यालय विर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड, जिफण्ट, क्यूपेक नेपाल, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका संस्थाले र्‍यालीमा व्यानरसहित सहभागीता जनाएको झापा उद्योग वाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष कुमार भट्टराईले जानकारी दिए ।
यसैबीच शहरी विभाग तथा भवन निर्माण डिभिजन कार्यालय इलामले विर्तामोडमा भूकम्पीय सुरक्षा सम्बन्धी चेतनामूलक प्रदर्शनी गरेको छ ।




Comments