बन्द शान्तिपूर्ण र मर्यादित बनाउने सहमति




३ माघ, विर्तामोड।
एकीकृत नेकपा माओवादी सहित ३० दलीय गठबन्धन, नेकपा-माओवादी सहित ३३ दलीय गठबन्धन र नेपाल आदिवासी जनजाति महासंघको आन्दोलन तथा माघ ६ गतेको आम हड्ताललाई सहज, शान्तिपूर्ण र मर्यादित बनाउने सहमति भएको छ ।
ती दलहरुसँग आज शनिबार झापाको विर्तामोडमा सम्वाद समूहको सचिवालयको संयोजनमा भएको छलफलमा त्यस्तो सहमति भएको हो ।
आम हड्तालको समयमा एम्बुलेन्स, चिकित्सक, औषधि, प्रेस, सागसब्जी, दुध, कुटनीतिक नियोग, मलामी, विवाह, रेडक्रस सोसाइटीसहित अत्यावश्यक सेवा र तिनका सवारी साधनलाई सहज रुपमा सञ्चालन गर्न दिने समेत आन्दोलनरत दलहरुबीच सहमति भएको छ । यसैगरी झापामा मोटरसाइकल र परीक्षाका सवारी साधनलाई सञ्चालन गर्न दिने विषयमा आइतबार सम्ममा आन्दोलनरत दलहरुबीच छलफल गरी सकारात्मक पहल गर्ने सहमति भएको संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दिपेन्द्र भट्टराईले जानकारी दिए ।


छलफलमा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य झलकसिंह दर्लामी सन्देश, पार्टी झापा अध्यक्ष धर्मशीला चापागाईं, नेकपा-माओवादीका सेक्रेटरी रोशन कन्दङ्वा र दयाराम दहाल शुलभ, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष पारसमणि राईले गठबन्धन तथा मोर्चाको तर्फबाट आन्दोलनबारे जानकारी गराउँदै सर्वसाधारणको हितका लागि भन्दै उक्त सहमति जनाएका हुन् ।
छलफलमा सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेश, तमलोपाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगर, संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला अध्यक्ष धनबहादुर पन्धाक सुब्बा, संघीय सदभावना पार्टीका सचिव राजकुमार महतोले समेत आफ्नो आन्दोलन शान्तिपूर्ण बनाउने सहमति गरेका छन् ।


छलफलमा नागरिक समाजका तर्फबाट डा. चुडामणि शिवाकोटी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मदन ढकाल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला सभापति रुपक खनाल, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति लोकराज ढकाल, राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदनगोपाल सुब्बाले सर्वसाधारणको जीवनमा असर नपर्ने आन्दोलनका कार्यक्रम तय गर्न र बन्दलाई सहज र शान्तिपूर्ण बनाउन आन्दोलनरत दलहरुलाई आग्रह गरेको संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए ।
उक्त अवसरमा दलका नेताहरुले सहमतीय संविधान निर्माणका लागि आफूहरु दवाब सिर्जना गर्न आन्दोलनमा आएको र यो आन्दोलन रहर नभई बाध्यता भएकोले जनताको अधिकार स्थापित गर्न आन्दोलनमा सहयोग पुर्याइदिन सबै पक्षसँग आग्रह गरेका थिए । उनीहरुले आफूहरुले आन्दोलन र बन्द हड्ताललाई सहज, शान्तिपूर्ण र मर्यादित बनाउने सहमति गरिरहँदा सरकार, स्थानीय प्रशासन र प्रहरीसमेत मर्यादित रुपमा प्रस्तुत हुनुपर्ने तथा आन्दोलनकारीलाई उत्तेजित बनाउने गतिविधि गर्नु नहुने कुरामा जोड दिएका थिए ।




Comments