फोहोर गर्ने एमाले कार्यकर्तालाई पार्टीले कार्वाही गर्ने

दमक ५ का ५ वटा टोल खुला दिसा मुक्त



२९ पौष, दमक।
झापाको दमक नगरपालिकाको वडा नम्बर- ५ का ५ वटा टोलहरु खुल्ला दिसा पिसावमुक्त भएका छन् । मंगलवार एक कार्यक्रमका बीच दुम्सेका ५ वटा टोलहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो ।
स्थानीय प्रगति, ओमशान्ति, चेतना, हिमाली र नवजागरण टोल बिकास संस्थाले संयुक्त रुपमा टोललाई खुल्ला दिसा मुक्त बनाएका हुन् । २ सय ९७ घर धुरी रहेका ती टोलमा बिपन्न परिवारलाई ५८ वटा शौचालयहरु निर्माण गरिएको छ।
दमक नगरपालिका कार्यकारी अधिकृत युवराज दाहालले नगरलाई सन् २०१६ सम्म खुल्ला दिसामुक्त क्षेत्र बनाउनका लागि मंगलवारबाट यस अभियान शुरु गरिएको बताए । कार्यक्रममा दमक खानेपानी संस्थाका अध्यक्ष पशुपतिराज गौतमले दैनिक हात सफा गर्नु पर्ने, शुद्धपानी पिउनु पर्ने र सबैले शौचालय निर्माण गर्नु अपरिहार्य रहेको बताए ।


लुथरन बिश्व महासंघ र युएनएचसीआरको सहयोगमा ती शौचालयहरु निर्माण गरिएको चेतना टोल बिकास संस्थाका अध्यक्ष नबिन बरालले जानकारी दिए ।
दुम्से खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा भएको कार्यक्रममा एमाले नगर अध्यक्ष अम्बिका खनालले पहिला एमालेका नेता कार्यकर्ताले एक घर एक शौचालय निर्माण गर्नु पर्ने बताए । सडकमा पराल सुकाउने बिस्कुन सुकाउने, जताभावी प्लाष्टिकको झोला प्रयोग गर्ने एमाले कार्यकर्तालाई कारवाही गर्ने अनि अरुलाई सचेत गराउनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा राप्रपाका नेता नैनसिह भण्डारी, लिम्बुवान पार्टीका सुमन नेम्बाङ लगायतले धारणा राखेका थिए । औपचारिक कार्यक्रमअघि दमक- ५ को सरस्वती निमाविदेखि शिखरकटेरीसम्म पञ्चेबाजा सहितको र्‍याली निकालिएको थियो । र्‍यालीले खुल्ला दिसामुक्त अभियानको प्लेकार्ड, ब्यानर सहित टोलहरु परिक्रमा गरेको थियो ।



Comments