विविध कार्यक्रम गरी ल्होसार मनाइयो



डिकेश लामा, बेलडाँगी, अनिश घिसिङ, बेलबारी ।
७ माघ ।
२८५१ औं सोनाम ल्होसार देशविदेशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाइएको छ ।
यसैक्रममा दमक नगर क्षेत्रका तामाङ जातिहरुले दमक वडा नं. १० को बौद्ध गुम्बामा आज विविध कार्यक्रम गरी एक साथ मनाएका छन् ।
ता अर्थात् घोडालाई विदा गरी लुक अर्थात भेडा बर्षलाई स्वागत गरेको यो सोनामा ल्होसारमा दमक नगर क्षेत्रका तामाङहरु भेला भई नाचगान, शुभकामना आदानप्रदान तथा जातिय संस्कृति झल्कने सेलो, व्हाई (गीत) जस्ता कार्यक्रम गरी मनाइएको कार्याक्रमका संचालक रविन तामाङले बताए ।
नेपाल तामाङ घेदुङ्ग संघ दमक नगर समितिको आयोजनमा भएको कार्याक्रममा संघका जिल्ला अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि कृष्ण गोलेले सोनाम ल्होसारलाई विधिवत ५ दिनसम्म मनाउन सवै तामाङ्गहरुलाई आग्रह गरे।




नगर अध्यक्ष हर्कमाया वल तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङका अगुवा प्रतिमान तामाङ, हरि लामा, संचारकर्मी डिकेश लामा, लामागुरुहरु दलु मोक्तान, पेमासिंह लामा र मनदिप लामाले पूजापाठ तथा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अन्य जातिय संघ संस्थाका नगर अगुवा गमानसिंह सम्हाम्फे, अम्बर कुमाल, राजकुमार गुरुङ्ग, इक्सा लिम्बु लगायत तामाङ जातिका विभिन्न संघ संस्थाका अगुवाहरुको समेत उपस्थिति रहेको थियो ।



यस्तै मोरङको बेलबारीस्थित रिसिङ ज्याङ् छ्योप छ्योलिङ गुम्बामा एक कायक्रमको आयोजनागरी सोनाम ल्होसार मनाइएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति मोरङका अध्यक्ष मित्रसेन योन्जनको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिशिष्ट अतिथि आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीका अध्यक्ष थिलक प्रसाद राई लगायतका बक्ताहरुले तामाङलगायत जनजातिहरुलाई राज्यले सदियौंदेखि उत्पीडनमा राखेर अपहेलित बनाएकाले सबै जनजाति आफ्ना हक अधिकारका लागि एक हुनुपर्ने आवश्यकता औंल्याए ।
बक्ताहरुले ल्होसार जस्तो सांस्कृतिक पर्वले समाजमा आपसी सौहार्द्धता र सद्भाव बढाउने बताएका छन् ।
नेपाल तामाङ घेदुङका भूतपूर्व महासचिव रमेश लामा बिशेष अतिथि रहेको कार्यक्रममा दुईजना बृद्धबृद्धासहित पाँचजनालाई सम्मानसमेत गरियो ।
तामाङ संस्कृति झल्काउने तामाङ सेलो र डम्फू नाचका अलावा जी. एट् डान्स सेन्टर तथा ड्रिमल्याण्ड एकेडेमी कोशीहरैंचाद्वारा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

यसैबीच राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री सुशील कोइरालाले आज सोनाम ल्होसारका अवसरमा छुट्टा-छुट्टै शुभकामना सन्देश दिएका छन् ।
नेपालसहित विश्वका विभिन्न भागमा मनाइने यो पर्व चीनमा चिनियाँहरूले वसन्त पर्वका रुपमा मनाउने गर्छन् ।






Comments